५ बैशाख २०८३, शनिबार April 18, 2026

रामपुर कटैनी पुलका लागि बजेट सुनिश्चित

१३ चैत्र २०८१, बिहीबार
रामपुर कटैनी पुलका लागि बजेट सुनिश्चित

धनगढी, १४ चैत । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुर कटैनी पुलका लागि बजेट विनियोजन गरिएको छ ।


उक्त पुलका लागि सुदूरपश्चिम प्रदेश सरकारले ९ करोड ७१ लाख बजेट सुनिश्चित गरेको हो । पुल निर्माणका लागि बजेट सुनिश्चित भए पछि यहाँका स्थानीय खुशी भएका छन् ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बमले पुल निर्माण भएपछि वडाबासीको सयौँ वर्षको सपना पुरा हुने बताए । पुलका लागि बजेट सुनिश्चित भएपछि वडा अध्यक्ष बमले वडावासी, स्थानीय तथा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । उनले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, पूर्वमन्त्री प्रकाश बहादुर देउवा, अर्थमन्त्री बहादुर थापा, प्रदेश सभा सदस्य घनश्याम चौधरी, भौतिक सचिव सुरत बम, भौतिक पूर्वाधारका प्रमुख रामचन्द्र खत्री, कैलारी गाउँपालिकाका प्रमुख राज समझ चौधरी र उपप्रमुख भगवति कुमारी चौधरी लगायत सम्पुर्ण सहयोगीलाई धन्यवाद व्यक्त गरेका हुन् ।
अध्यक्ष बमले पुलको बहुबर्षिय ठेक्का अनुसार निर्माणको कार्य हुने भन्दै दुई तीन वर्षभित्र निर्माण सम्पन्न हुने बताए ।
उनले भने, ‘रामपुर कटैनी नदिमा बन्ने पुलको लागि श्रोत सुनिश्चित भएको अवस्था छ । यो पुलको बहुबर्षिय ठेक्का अनुसार काम हुनेछ, दुई तिन बर्षमा पुलको सम्पूर्ण निर्माणको कार्य सम्पन्न हुन्छ ।’
नदिमा पुल नहुँदा खासगरि बर्खाको बेला रामपुर, भुँइयाँफाटा, तिघरी लगायतका स्थानीयलाई ओहोरदोहोर गर्न निकै नै समस्या रहेको हुन्छ । उक्त ठाउँमा पुल निर्माणका लागि बिगत लामो समय देखि यहाँका स्थानीयले माग गर्दै आएका थिए । बर्खाको बेला नदिमा आउने बाढीले काठेपुल बगाउँदा यहाँका स्थानीयलाई झन सास्ती खेप्नु परेको छ ।
यता छटकपुर र बर्का बसन्ता कटैनी नदिमा पक्की पुल नहुँदा छटकपुर र बर्का बसन्ता सहित नारायण र मोहनपुरका स्थानीयलाई पनि ओहोरदोहोर गर्न निकै नै समस्या हुने गरेको छ । अध्यक्ष बमले बर्का बसन्ता कटैनी पुलका लागि पनि पक्कीपुल निर्माणका लागि पहल भइरहेको बताए ।