६ बैशाख २०८२, शनिबार April 19, 2025

नवजीवन ब्राण्डका चामल बिक्रि सुरु

८ चैत्र २०८१, शनिबार
नवजीवन ब्राण्डका चामल बिक्रि सुरु

धनगढी, ९ चैत । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले नवजीवन ब्राण्डका चामल विक्रि वितरण सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको सहकारीले खाद्य उद्योग (राइस मिल) बाट उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको हो । सहकारीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा डेढ करोडको लगानीमा खाद्य उद्योग सञ्चालनमा ल्याएको छ ।


सहकारीका शेयर सदस्यसहित आमजनताले शुद्ध र अग्र्यानिक चामल खान पाउन भन्ने उद्देश्यले सहकारीले खाद्य उद्योग स्थापना गरि चामल उत्पादन सुरु गरेको सहकारीका अध्यक्ष देब बहादुर बमले बताए ।
अध्यक्ष बलमे सहकारीले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी दिनमा पिठो, तेल र दाल उत्पादनका साथै पानी फ्याक्ट्री सञ्चालन गर्ने योजना अघि बढाएको बताए ।


सहकारीले उद्योगका लागि १६ हजार २८ क्विन्टल धान खरिद गरि एक हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको छ । जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ । उद्योगबाट अहिले मोटो र मसिनो गरि दुई किसिमका चामल उत्पादन भइरहेको छ ।

अध्यक्ष बमले २५ किलो प्याकिङ्ग भएको मोटो चामलको रु. १४ सय र मसिनो चामल दुई हजार दुईसय विक्रि मुल्य तोकिएको बताए । उनले धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने बताए । उनका अनुसार पहिलो चरणमा नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरुबाट बिक्रि वितरण गरिने छ । सहकारी मन्त्रालयसंग समन्वय गरि छिट्टै नै गाडीको व्यवस्थापन गरि चामल होम डेलिभरीको व्यवस्था समेत गरिने अध्यक्ष बलमे बताए ।


मजगाउँ क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गरिने र शेयर सदस्यहरुलाई कृषिमा आकर्षित गर्नुुका साथै प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने सहकारीको भावी योजना रहेको छ । रानी जमरा सिँचाई आयोजना सुरु भएमा त्यहाँका किसानलाई बिउ वितरणको योजना पनि अघि बढाइने सहकारीले जनाएको छ ।
२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । ३६ हजार ८१ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ करोड ३४ लाख शेयर पूँजी रहेको छ । सहकारीले पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप संकलन गरि चार अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।