काठमाडौँ, ८ चैत । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट दुई जनालाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।
नवनियुक्त बोर्ड सदस्यमा सञ्चार मन्त्रालयका उपसचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका निजी सचिव सुरथ पोखरेललाई संस्थान ऐन २०१९ दफा ८ को उपदफा (१) को खण्ड (ग) अनुसार चैत ७ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको हो ।
सोहीअनुसार गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरी ‘लक्की’ बोर्ड सदस्यमा नियुक्त भएका छन् । उनलाई संस्थान ऐन २०१९ को दफा ८ (१) को खण्ड (ङ) बमोजिम सो पदमा चार वर्षका लागि नियुक्त गरिएको हो ।
मन्त्रालयका सहसचिव कोशहरि निरौलाद्वारा हस्ताक्षरित पत्रअनुसार चैत ७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सो पदमा पोखरेल र चौधरीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । मन्त्रालयका सहसचिव निरौलाले बोर्ड सदस्यद्वय पोखरेल र चौधरीलाई आज मन्त्रालयमा पत्र हस्तान्तरण गरे ।
बोर्ड सदस्य पोखरेल रिसिङ गाउँपालिका –५, तनहुँ स्थायी निवासी हुन् । राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका पोखरेलले कानुनमा एलएलबी गरेका छन् । नवनियुक्त सदस्य चौधरी धनगढी –५, कैलाली निवासी हुन् । समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत छन् । गोरखापत्र अनलाइनका निमित्त सम्पादक चौधरी विगत १६ वर्षदेखि गोरखापत्रमा आवद्ध रहेका छन् ।