धनगढी, १८ फागुन । धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ ।
देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि ज्ञान महायज्ञ २०८१ हुने भएको हो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आइतबार पत्रकार सम्मेलन मार्फत सप्ताहव्यापी ज्ञान महायज्ञबारे जानकारी दिएको हो । यही फागुन २१ गतेदेखि २७ गतेसम्म हुने ज्ञान महायज्ञमा भागवत मञ्जरी पूज्या राधिका दासीबाट भावगत कथा बाचन हुने भएको छ । महायज्ञकी प्रमुख बाचिका समेत रहेकी उनले पत्रकार सम्मेलनमा पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन् ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थ पाण्डेले ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठ सहित पवित्र र पावन रहेको भूस्वर्ग सुदुरपश्चिमेली समाजमा धर्म, संस्कृति र अध्यात्म मार्फत नवीन संदेश दिन महायज्ञको आयोजना गरेको बताए ।
उनले भाषा, साहित्य, संस्कृति, पुरातत्व जस्ता बाङमयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक संग्रहालय निर्माणका लागि पवित्र उद्देश्य सहित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागेको बताए ।
उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक साँस्कृतिक जागरण ल्याएको बताए । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोल, महोत्सवस्थलमा हुने भएको छ ।