धनगढी, १७ फागुन । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निजी स्तरको लगानीबाट सञ्चालित नवजीवन अस्पताल स्थापनाको १९औं वर्ष पूरा गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तर बेहडीमा २०६२ साल फागुन १७ गते स्थापना भएको निजी क्षेत्रको प्रदेशकै पहिलो अस्पताल नवजीवनले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
२०६२ सालमा १५ शय्याबाट सुरु भएको नवजीवनले २०६८ सालबाट ५० शय्या सञ्चालनको अनुमति पाएको थियो । स्वास्थ्य सेवा विभागबाट ५० शय्या सञ्चालनको अनुमति पाएको नवजीवनले २०७९ असोजदेखि एकसय शय्याबाट उपचार सेवा प्रदान गरिरहेको छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले अस्पतालले सामजिक सुरइाा कोषबाट सम्मानित भएको जानकारी दिए । उनले अस्पतालले सामाजिक सुरक्षामा आवद्ध सबैभन्दा बढी बिरामीको उपचार गरेकाले सम्मानित भएको बताए ।
अस्पतालबाट सामाजिक सुरक्षामा आवद्ध सर्वसाधारणले आइपिडी र ओपिडीमा ८० प्रतिशत तथा दुर्घटना भएको अवस्थामा निःशुल्क उपचार हुँदै आएको छ । अस्पतालमा १७ किसिमका सेवा सञ्चालन, उपचार सेवाका अतिरिक्त विभिन्न शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको नवजीवन अस्पतालमा २४ सैं घण्टा १७ किसिमको उपचार सेवा रहेको अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले बताए । उनले हाल एकसय शय्या क्षमतामा उपचार प्रदान गरिरहेको अस्पतालमा थप सेवा सुविधा थप्दै जाने समेत जानकारी दिए ।
निजी लगानीबाट सञ्चालित नवजीवन अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल सरकारसँगको सहकार्यमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगका बिरामीको निःशुल्क औषधि वितरण लगायतको उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।
अस्पतालबाट एक वर्षको अवधिमा करिब ४९ हजार बिरामीले उपचार सेवा पाएका छन् । अस्पतालले आव २०८० फागुन देखि २०८१ मसान्तसम्म एक वर्षमा अस्पतालबाट ४८ हजार ९५३ जना बिरामीले उपचार सेवा पाएका हुन् ।
अस्पताल भित्र तथा विभिन्न स्थानमा सञ्चालित स्वाथ्य शिविर मार्फत २ हजार ५१४ जनालाई निःशुल्क सेवा दिएको मेडिकल डाइरेक्टर डा. ढकालले जानकारी दिए ।
त्यसैगरि अस्तालले एकहजार ५३९ जनालाई निःशुल्क सुत्केरी सेवा र दुई हजार ९९६ जना बालबालिकालाई निःशुल्क खोप पनि दिएको जनाएको छ । साथै अस्पतालले इमरजेन्सीबाट चार हजार ४९ जना, बहिरंगबाट ३२ हजार १८८ र अन्तरंगबाट पाँच हजार ६९७ जना विरामीलाई सेवा दिएको जनाएको छ ।
सोही अवसरमा अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ट्राफिक प्रहरीलाई ३० थान ट्राफिक डिभाइडर हस्तान्रण गरेको छ । साथै रक्तदान र विरामीलाई फलफुल वितरण पनि गरेको जनाएको छ ।
अस्पतालमा डिप्लोमा तहको नर्सिङ, सामान्य चिकित्सा र फार्मेसीको अध्यापन हुने गरेको छ । अस्पतालमा हरेक दिन हाडजोर्नी विशेषज्ञ सेवा, प्रसूति तथा महिला रोग विशेषज्ञ सेवा, विशेषज्ञ बालरोग सेवा, जनरल तथा ल्याप्रेस्कोपिक सर्जन विशेषज्ञ सेवा सञ्चालनमा रहेको छ । यसैगरी, विशेषज्ञ मानसिक तथा स्नायु रोग सेवा, पेट, छाती तथा मुटुरोग विशेषज्ञ सेवा, एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा, विशेषज्ञ मुटुरोग सेवा प्रदान भइरहेको बताइएको छ ।