धनगढी, ८ चैत । राष्ट्रिय भूमि आयोग कैलालीले यस आर्थिक वर्ष २० हजार पुर्जा वितरण गर्ने तयारी गरेको छ ।
आयोगले बिहीबार धनगढीमा पत्रकार सम्मेलन मार्फत कैलाली जिल्लाको प्रगति विवरण सार्वजनिक गर्दै भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई कम्तिमा २० हजार पुर्जा वितरण गर्ने जानकारी दिएको हो ।
आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्याय स्थानीय तहका जनप्रतिनिधीहरुले इच्छा शक्ति देखाएमा कम्तिमा उक्त संख्यामा जग्गा धनी लालपुर्जा वितरण गर्ने दाबी गरे ।
‘अहिलेको आयोग पृथक रहेको छ’, अध्यक्ष उपाध्यायले भने˗‘यदि स्थानीय तहका जनप्रतिनिधीले तदारुकताका साथ आफ्नो इच्छा शक्ति देखाएको खण्डमा हामीले यस आर्थिक वर्ष भित्र २० हजार बढीलाई जग्गा धनी लाजपुर्जा वितरण गर्ने लक्ष्य लिएका छौँ ।’
आयोगले कैलालीका तीन स्थानीय तह बाहेक १० वटा स्थानीय तहहरुमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको नाप नक्साको कार्य दतारुकताका साथ सम्पन्न गरिरहेको जनाएको छ ।
आयोगका अध्यक्ष उपाध्यले टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका बाहेक बाँकी स्थानीय तहमा नाप नक्साको कार्य निरन्तर जारी रहेको बताए । उनले हालसम्म १२ हजार ११० बिघा नाप नक्सा भएको पनि जानकारी दिए ।
आयोगले कृषि र आवासका लागि हालसम्म १६५ जनालाई जग्गाधनी प्रमाण पत्र वितरण गरेको जनाएको छ । जसमा धनगढी उपमहानगरपालिका वडा नम्बर ९ अन्र्तगत कृषिका लागि १२ र आवासका लागि १० सहित २२ जनालाई प्रमाण पत्र उपलब्ध गराएको छ । लक्मीचुहा नगरापलिका वडा नम्बर ३ मा आवासका लागि १३०, गोदावरी नगरपालिकामा ७ र बर्दगोरिया गाउँपालिकामा ६ जनालाई प्रमाणपत्र वितरण गरेको जनाएको छ ।
यस्तै गोदावरी नगरपालिका अन्र्तगत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी ५६ परिवारलाई लालपुर्जा उपलब्ध गराउने निर्णय भएपनि जग्गाधनीलाई क्षेत्रफल चित्त नबुझेकाले लिन नचाहेको जनाइएको छ । साथै सोही नगरपालिका अन्र्गतका २२६ अव्यवस्थित बसोबासीहरुको वर्गीकरण र राजस्व सम्बन्धी सूचना जारी गरेको तर राजस्व दस्तुर बढी भएको भन्दै जग्गाधनीले पुर्जा लिन नचाहेको समेत आयोगले जनाएको छ ।
भूमि आयोग कैलालीमा एक लाख ३० हजार ७०१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन भएको जनाइएको छ ।