६ बैशाख २०८३, आईतवार April 19, 2026

कर्णाली पुल सञ्चालनमा आउन अझै समय लाग्ने

३० फाल्गुन २०८०, बुधबार
कर्णाली पुल सञ्चालनमा आउन अझै समय लाग्ने

धनगढी, ३० फागुन । कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै सञ्चालनमा समय लाग्ने भएको छ । सोमबार साँझ पुलमा आगो लाग्दा सामान्य क्षति भएको पुल सञ्चालनमा आउन तीन दिन लाग्ने बताइएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरु हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । सोमबार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँयातर्फका ७÷७ वटा लठ्ठा(केबल) जलेको पाइएको बताए ।

जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने अधिकारी बताउँछन् ।

‘हामीले पुलको अवस्थाबारे विस्तृत विश्लेषण गर्न बाँकी छ । अहिले गाडी गुडाएर हेरिरहेका छौं । सकेसम्म भोलिसम्म रिपोर्ट तयार हुन्छ होला’, अधिकारीले अनलाइनखबरसँग भने, ‘पुलका दुवैतर्फका १४ वटा केबल जलेको भएपनि अहिलेसम्म थप क्षति भएको देखिएको छैन तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्न सक्छ ।’

उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारीसाधन चलाउन नमिल्ने बताए । अहिले पुलको सतहको मर्मतसम्भार गर्ने तर लठ्ठा भने तत्काल मर्मत नहुने अधिकारीले जानकारी दिए ।

ट्रकमा आगलागी हुँदा पुलका फलामे लठ्ठामा पनि आगो सल्किएको थियो । फलामे लठ्ठाको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकहरुको भनाइ छ ।

ट्रकमा आगलागीको कारण भने अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले जानकारी दिए ।