२० मंसिर २०८१, बिहीबार December 5, 2024

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला

२३ फाल्गुन २०८०, बुधबार
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला

हसुलिया, २३ फागुन । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार कैलारी गाउँपालिकाको हसुलियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न भएको छ ।
कैलारी गाउँपालिकाको आयोजना र यूएसएड जल जंगल कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा ‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’ भन्ने मुल नारा सहित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला भएको हो ।


कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले वनजंगल संरक्षणमा महिलाहरुको ठुलो हात रहेका तर लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण पछाडी परेको बताइन् । उनले भनिन्, ‘महिला नेतृत्व सम्हालेका सामुदायिक वन प्रगति गरेको देखिन्छ । पारदर्शिता र सुशासन पनि हुन्छ तर अहिले पनि सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति गठन गर्नेबेला महिलालाई कोषाध्यक्ष या सदस्य पद दिने प्रचलन रहेको छ ।’
ग्रामीण क्षेत्रमा महिलाहरुलाई अहिले पनि काठ दाउरा, घाँस काट्ने, चुल्हाचौकामा सीमिति राख्दा महिलाहरु नेतृत्वमा पुग्न नसकेको उपाध्यक्ष चौधरीले बताइन् ।


कार्यक्रमको उद्देश्य र यूएसएड जल जंगल कार्यक्रमबारे टिम लिडर भाष्कर भट्टराईले गरेका थिए । अन्तर्राष्ट्रिय महिला दिवसको महत्व र प्राकृतिक स्रोतमा महिला, दलित, जनजाती, अपाङता तथा लैङ्गिक अल्पसंख्यक समुदायका पहुँच लगागत विषयबस्तुमा यूएसएड जल जंगल कार्यक्रमका सि.जेसी अधिकृत लोकबहादुर नेपालीले प्रस्तुतीकरण गरेका थिए ।


कार्यक्रममा सहजीकरण गर्दै कैलारी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बालकुमारी चौधरीले कार्यक्रमका योजना र कार्य सम्पादन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु चौधरी, कार्यपालिका सदस्य सुनिला चौधरी, कौशी बोहरा, विष्णु चौधरी, चम्फा बोहरा, हिरा चौधरी, गीता चौधरी अहिलेको समस्या र वर्तमान अवस्थाबारे आआफना कुरा राखेका थिए ।