२९ मंसिर २०८१, शनिबार December 14, 2024

कार्य सम्पादन मूल्याङ्कनमा नेपालकै उत्कृष्ट तीनमा कैलारी गाउँपालिका

२२ फाल्गुन २०७८, आईतवार

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट पालिकामध्ये नेपालमै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरेर कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै तेस्रो स्थान प्राप्त गरेको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार ७८.६९ अंक पाएर डडेल्धुराको अजयमेरु गाउँपालिका नेपालमै पहिलो स्थानमा छ । त्यस्तै, ७६.३८ अंक पाएको कञ्चनपुरको भीमदत्त नगरपालिका चौथो स्थानमा रहेको छ ।
कैलालीमा रहेको १३ वटा स्थानीय तहमध्ये कैलारीले यहाँको स्थानीय तहलाई कार्य सम्पादनमा उछिनेकोमात्रै छैन, उत्कृष्ट पाँच पालिकामध्ये नेपालमै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले ६८.८८ अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे÷नगरेको, असार मासन्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकन गरेको थियो । त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।
आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरेको हो । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।