कुन कुन विषयमा भयो प्यानल छलफल ?
कञ्चनपुर । छैठौं राष्ट्रिय थारू साहित्य सम्मेलन कार्यक्रममा थारूभाषा, साहित्य, लोक संस्कृति राजनीति लगायत ९ वटा विविध विषयमा प्यानल छलफल भएको छ । फागुन १२ देखि १४ गतेसम्म भएको कार्यक्रममा आकर्षणका केन्द्र साहित्यकारद्वय शिवानीसिंह थारु र रामलाल जोशी थिए, जसले आख्यान यात्रा विषयमा आ–आफ्ना अनुभव साटेका थिए । थारुले आफ्नो पहिलो उपन्यास काठमाडौंमा एक दिनपूर्वी मधेशको विषयमा रहेकोमा आउने उपन्यास नेपालगंज क्षेत्रलाई केन्द्रित गरी पश्चिम मधेशको विषयमा रहने जानकारी दिइन् । उनले आफू थारु जाति भए पनि थारु भाषा नआउने स्वीकार्दै थारु भाषा सिकेर मातृ भाषामा पनि कलम चलाउन सम्मेलनले उत्प्रेरित गरेको बताइन् । उता जोशीले पश्चिम क्षेत्रको विषयमा धेरै आख्यान लेखि सकेकोले अब आफ्नो ध्यानपूर्वी क्षेत्रको विषयमा रहने जानकारी दिए । सो सेसनको सहजीकरण शेखर दहितले गरेका थिए ।
थारू साहित्यिक तथा अन्य पत्रिकारिता विषयमा रानाथारून्के डटकमका सम्पादक नन्दलाल राना, लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलासँग हरचाली त्रैमासिकका प्रधान सम्पादक सागर कुश्मीले बहस चलाएका थिए । स्थानीय पालिकाहरुबाट थारू मिडियाहरुले कुनै सपोर्ट नपाएको प्यानलको निचोड रहेको थियो । त्यस्तै थारूलोक साहित्य र लोक दर्शन विषयमा संस्कृतिविदद्वय सुशील चौधरी र जोगराज चौधरीसँग जंग्रार साहित्यिक बखेरीका संयोजक सोम डेमनडौराले छलफल चलाएका थिए । थारूलोक संस्कृतिनिकै समृद्ध रहेको तर पर्याप्त दस्तावेजीकरण तथा विश्लेषण हुन नसकेको सम्बन्धमा छलफल केन्द्रित रह्यो ।
यसैगरी कञ्चनपुरको राजनीतिमा थारूको अवस्थाविषयमा पूर्व संविधान सभा सदस्य देवीलाल चौधरी तथा सञ्चारकर्मी बलबहादुर डंगौरासँग थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले छलफल चलाए । सबै चिजको मियो राजनीति भएकाले भाषा, साहित्यको उन्नयन लगायत जुनसुकै क्षेत्रमा प्रगति गर्न थारूहरुले मूलधारको राजनीतिमा समानुपातिक समावेशी ढंगले समावेश हुनुपर्ने आवाज उठेको थियो । डंगौराले राजनीतिमा गुलामी गर्न नसकेको, समाज रुपान्तरणमा लाग्ने महोल नरहेकाले राजनीति छाडेर पत्रकारितामा आएको बताए ।
चार वटा पुस्तकविमोचन
सम्मेलनको उद्घाटनको अवसरमा ४ वटा कृति विमोचन भएको थियो । जसमा शेखर दहितको थारूजोधा (जीवनी संग्रह), वीरबहादुर राजवंशीको जोंजा लेख संग्रह, साफी राजवंशीको गोरपासु संस्मरण संग्रह, मानबहादुर चौधरी पन्नाको सम्पादनमा प्रकाशित लखागीन जर्नल रहेको थियो । यी सबै स्रष्टाहरुसँग पुस्तकको बारेमा छविलाल कोपिलाले प्यानल छलफल चलाएका थिए । अरु वर्ष दर्जन बढी कृति सम्मेलनमा विमोचन हुने गरे पनि कोरोनाका कारण गतवर्ष र यस वर्ष विमोचन हुने पुस्तकको संख्या कम भएको थियो ।
थरुहटका विभिन्न पालिकामा थारूहरुको परम्परागत संगठन बरघर प्रणाली सक्रिय छ । कतिपय पालिकामा बरघर ऐन नै बनेर लागु समेत हुन थालेको छ । यसै क्रममा विकासमा जनप्रतिनिधि र बरघर भलमन्साको भूमिका विषयमा कृष्णपुर नगरपालिकाका उपमेयर रमिता राना बडायक, सोही नगरपालिकाका ५ नं. वडा अध्यक्ष आशा रामचौधरी, थारू कल्याणकारिणी सभा कञ्चनपुरका सल्लाहकार रोशन चौधरीसँग सोम डेमनडौराले छलफल चलाएका थिए । विकास निर्माणको काममाथारू बरघरहरु निर्वाचित जनप्रतिनिधिहरु भन्दापनि सक्रिय रहने गरेको तर कुनै सुविधा नपाएको छलफलको निष्कर्ष थियो । आशाराम चौधरीले आफ्नो पालिकाले बरघर अक्षयकोष बनाउन थालेको जानकारी दिएका थिए ।
थारू महिला किन पछि ? विषयमा अधिवक्ता गीता चौधरी, साहित्यकार सुनिता चौधरी सानु, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गीता चौधरीसँग साफी चौधरीले छलफल चलाएकी थिइन् । थारू महिलाहरु अघि बढ्दै गरेको अवस्था रहे पनि उनीहरुलाई अधिकारको लागि घरबाटै सपोर्ट हुने वातावरण बनाइ दिनुपर्ने छलफलको निचोड रहेको थियो ।
थारु गीत संगीतको अवस्थाबारे गायकद्वय दोषहरण चौधरी, सन्तराम चौधरी र बसन्ती चौधरीसँग अर्का गायक राजु चौधरी राजले बहस चलाएका थिए । सो क्रममा थारु गायकहरुले थारु गीतको मौलिकता जोगाउन प्रयास गरे पनि पर्याप्त नरहेको निष्कर्ष थियो ।
विभिन्न क्षेत्रको नेतृत्वमा थारूहरुले अगुवाइ गरेको तर तिनीहरुको इतिहास नलेखिएको तीतो यथार्थ छ । यसैक्रममा खै थारू यौद्धाहरुको खोजी ? विषयमा थारूजोधा (यौद्धा) पुस्तकका लेखक शेखर दहित, थारू लेखक संघ नेपाल कैलाली शाखाका अध्यक्ष सीताराम चौधरी, लेखक राम सागर चौधरीसँग डा. डा कृष्णराज सर्वहारीले छलफल चलाएका थिए । दहितको पुस्तकथारु जोधामा दाङ, बाँके तथा बर्दियाका केही थारु यौद्धाहरुको जीवनी समेटिएको छ । यस्तो जीवनी प्रत्येक थरुहट क्षेत्रका जिल्लामा अमूल्य योगदान पु¥याउने थारु योद्धाहरुको बारेमा पुस्तक आउनु पर्ने छलफलको निचोड थियो ।
सामाजिक सञ्जालहरुमा स्रष्टाहरुले मातृभाषा थारुमा पनि आफ्ना रचना पस्किंदै आएका छन् । यही क्रममा सामाजिक सञ्जाल र थारु साहित्य विषयमा साहित्यकार मानबहादुर पन्ना र अंकर अञ्जान सहयात्रीसँग प्रकृति पूजा चौधरीले बहस चलाएकी थिइन् । स्रष्टाहरुले जे विषयमा कलम चलाए पनि बिना सम्पादन पोष्ट गर्न हतार गर्न नहुने छलफलको निचोड थियो ।
दोषहरण पुरस्कृत
सम्मेलनमा थारु लेखक संघ नेपालबाट स्थापित थारु भाषा साहित्य पुरस्कार दाङ देउखुरी पचुहियाका गायक दोषहरण चौधरीलाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी १५५५५।– रहेको छ । साथै संघका संस्थापक तथा आजीवन सदस्यहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । स्मरण रहोस् गतवर्ष थारु भाषा साहित्य पुरस्कार कथाकार शेखर दहितलाई प्रदान गरिएको थियो ।
पहिलो दिन कार्यक्रमको उद्घाटन कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । उनले आफ्नो क्षेत्रको डोटेली, रानाथारु, डंगौरा थारु लगायत सबै भाषाको समान विकासमा लागी पर्ने जानकारी दिएका थिए । थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति मेवाराम चौधरीले स्वागत गर्दै कार्यक्रमको उद्येश्य माथि प्रकाश पारेका थिए भने थारु लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले धन्यवाद ज्ञापन गरेका थिए । थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष गीता चौधरी, लेखक वीरेन्द्र चौधरी, थारु आयोगका सदस्य भोला रामचौधरी लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रमका मूल संयोजक जोगराज चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन गीता चौधरीले गरेकी थिइन् । कार्यक्रममा स्थानीय डंगौरा र राना थारुहरुको विभिन्न नाचगान देखाइनुका साथै कविहरुबाट रचना पनि बाचन गरिएको थियो ।
१० बुँदे घोषणापत्रजारी
कार्यक्रमको समापनमा १० बुँदे घोषणापत्र जारी गरियो । जसमा थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्ध भएका छन् । साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारू बाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागिकार्य अगाडि बढाउने, आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभाकञ्चनपुरको आयोजना, सिंहपुर युवाक्लब, गोचाली परिवार कञ्चनपुरको सहआयोजना, कृष्णपुर नगरपालिका तथा सोही पालिकाको ५ र ६ नं. वडा एवम् एआइपीपीको सहकार्यमा भएको ३ दिने कार्यक्रममा करिब २ सय भन्दा बढी थारू साहित्यकारहरुको जमघट रहेको थियो ।
थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ ।
थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब दिने, साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णय गरिएको छ । साथै आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा २०७९ फागुनमा गरिने जानकारी थारू लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले दिए ।