७ फाल्गुन २०८२, बिहीबार February 19, 2026

मतदातासँग सुझाव माग्दै कैलाली–३ का काँग्रेस उम्मेदवार भीम बडूवाल

२१ माघ २०८२, बुधबार
मतदातासँग सुझाव माग्दै कैलाली–३ का काँग्रेस उम्मेदवार भीम बडूवाल

धनगढी, २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका भीम बडूवालले मतदातासँग सुझाव सङ्कलन गर्न थालेका छन् । उनले यसका लागि एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्दै सुझाव सङ्कलनको प्रक्रिया सुरु गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ तथा समग्र क्षेत्रका नागरिकको आवाज नीति निर्माण तहसम्म पु¥याउने उद्देश्यले सुझाव सङ्कलन सुरु गरिएको बडूवालले बताए । “यहाँका सबै बासिन्दाको मत संसदमा सुनियोस् भन्ने सुनिश्चित गर्नुपर्छ,” उनले भने, “त्यसका लागि मैले प्रविधिको प्रयोग गर्दै सुझाव सङ्कलनको अभियान थालेको हुँ।”

नागरिकलाई विकास निर्माणको नीति तहसम्म प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको प्रतिनिधिसभा सदस्य उम्मेदवार बडूवालले स्पष्ट पारे । यस क्षेत्रका जनताको आवाज आफूले प्रतिनिधिसभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

“भोटले सरकार बन्छ, तर समृद्ध समाज बनाउन नागरिकको सुझाव र सक्रिय सहभागिता अपरिहार्य हुन्छ,” बडूवालले भने । दीर्घकालीन विकास, सुशासन तथा भुइँ तहका आवाज नै आफ्ना आगामी नीति निर्माणका आधार हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार भीम बडूवालले उल्लेख गरे ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ का प्रत्येक नागरिकको आवाज आफू बन्न सक्ने दाबी गर्दै बडूवालले देशभरबाट समेत सुझावको अपेक्षा गरेको बताएका छन् । “त्यसैले मैले सुझाव सङ्कलनको प्रक्रिया अघि बढाएको छु, म देश तथा विदेशबाट समेत सुझाव चाहन्छु,” उनले भने ।