धनगढी, १३ फागुन । घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउन थालेको छ ।
पक्की घर बनाउनेक्रम बढेसंगै थारू लोककला हराउन थालेको हो । अचेल कच्ची घर बनाउनेलेसमेत घरको भित्तामा थारु पहिचान दर्शाउने चित्र बनाउँदैनन् । विगतमा थारू समुदायको कच्ची घरमा हात्ती, घोडा, मंयुर, डोला–डोली बोकेको मान्छे, रुख लगायतको चित्र बनाउने गरिन्थ्यो । माटोले बनाइएको यस्ता चित्रले सो घर थारु समुदायको रहेको बुझिन्थ्यो । तर पक्की घर बनाउने लहर चलेसंगै परम्परागत यो लोककला हराएको थारू कल्याकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव चौधरीले बताए ।

“अहिले यस्तो लोककला देख्न पाइदैन”, उनले भने,“हाम्रो मौलिक पहिचान दर्शाउने परम्परागत लोककला लोप भइसकेको छ ।”
सहरी क्षेत्रमा थारु समुदायका मानिसले प्रायः पक्की घर बनाइ रहेका छन् । ग्रामीण क्षेत्रमा अझै पनि धेरैजसो कच्ची घर नै देख्न पाइन्छ । तर, ती घरहरुमा परम्परागत मौलिक लोककला भने देखिदैन । मौलिक लोककला हराउँदै गएपछि थारु होमस्टे सञ्चालन रहेको कैलालीको फकलपुर गाउँमा पक्की घर भएपनि एउटा कच्ची घर बनाउने र त्यसमा मौलिक लोककला दर्शाउने चित्र बनाउने अभियानको थालनी गरिदैंछ ।

जागृति युवा क्लब र त्यहाँको गाउँ समाजले कच्ची घर पनि बनाउने र भित्तामा चित्र बनाउने अभियान चलाउने सो गाउँवासीसमेत रहेका चौधरीले जानकारी दिए । उनले भने,“फकलपुरमा कुनै पनि थारू घर थारू समुदायको घर जस्तो छैन । सबै पक्की भएपछि अब हरेक घरकाले कच्ची घर पनि बनाउने र त्यसमा परम्परागत चित्र बनाउने अभियान चलाइदैँ छ ।”
रानाथारू र कठरिया थारू समुदायले पनि कच्ची घरमा परम्परागत लोककला दर्शाउने माटोको चित्र बनाउने चलन थियो । त्यो चलन पनि हराउँदै गएको छ । धनगढी क्षेत्रमा थारू घरको भित्तामा कहिँ पनि मौलिक चित्र नदेखिने गरेको धनगढी गाउँका सूर्य चौधरीले बताए । “पहिले रानाथारू घरमा त्यस्तो चित्र देखिन्थ्यो”, उनले भने,“अहिले त रानाहरुको घरमा पनि छैन ।”
