१७ जेष्ठ २०८३, आईतवार May 31, 2026

सुशिललाई थारु साहित्य पुरस्कार, सुनितालाई प्रतिभा महिला सशक्तिकरण पुरस्कार

११ फाल्गुन २०८१, आईतवार
सुशिललाई थारु साहित्य पुरस्कार, सुनितालाई प्रतिभा महिला सशक्तिकरण पुरस्कार

धनगढी, ११ फागुन । थारू भाषा साहित्यमा कलम चलाउने अधिकारकर्मी तथा लेखक सुशिल चौधरीलाई ‘थारू साहित्य पुरस्कार २०८१’ बाट सम्मान गर्ने भएको छ ।


थारू लेखक संघ नेपाल कैलालीले लेखक चौधरीलाई सम्मान गर्ने भएको हो । उनलाई यहि फागुन १५ गतेदेखि १७ गतेसम्म राजापुर–२, जोतपुर बर्दियामा हुने ९औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका सचिव अनिल कुश्मीले जानकारी दिए ।
बढैयाताल गाउँपालिका–८, बर्दियाका चौधरी विशेष गरि थारु लोक कला तथा साहित्यमा कलम चलाएका छन् भने उनका चर्तित कृतिमा बिरहुल बसिया कविता संग्रह, हिट्वा नाटक, दहितान ढेँकी, लगाखिन एल्वम्, फुटकर कविता लगायत रहेका छन् ।
संघले मान बहादुर चौधरी ‘पन्ना’को संयोजकत्वमा पुरस्कार छनौट समिति चयन गरेको थियो । उक्त समितिको सदस्यमा उन्नती चौधरी, शेखर दहित, रविना चौधरी र सदस्य सचिव अनिल कुश्मी रहेका थिए । उक्त समितिले छनौट गरि सिफारिस गरेका स्रष्टालाई ‘थारू साहित्य पुरस्कार २०८१’ बाट सम्मानित गर्न लागिएको हो । थारु भाषा, साहित्य, संस्कृति र गीत संगीतको क्षेत्रमा विशेष योगदान पु¥याउने एक जना स्रष्टालाई संघले हरेक वर्ष साहित्यिक सम्मेलनमा सम्मान गर्दै आएको छ ।
संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद ५० हजार रुपिया नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्ने सचिव कुश्मीले जानकारी दिए ।
थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले २ लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने संघका अध्यक्ष जीतबहादर चौधरीले बताए ।
सोही कार्यक्रममा प्रतिभा महिला सशक्तिकरण पुरस्कारबाट बेलौरी नगरपालिका वडा नम्बर ७ कञ्चनपुरकी सामाजिक अभियन्ता सुनिता चौधरी ‘सानु’ सम्मानित हुने भएकी छन् । महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय काम गरेबाफत उनलाई सम्मान गर्ने भएको हो । पुरस्कार राशी नगद २५ हजार रहेको छ ।
रोडन मेडिकल कैलालीका सञ्चालक चन्द्रसिंह चौधरीले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथीको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । सञ्चालक चौधरीले ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । कोरोका कारण २०७८ मा उनकी श्रीमति प्रतिभाको निधन भएको थियो ।