१० चैत्र २०८१, सोमबार March 24, 2025

धनगढीमा भोलिदेखि सीप तथा रोजगार मेला

७ फाल्गुन २०८१, बुधबार
धनगढीमा भोलिदेखि सीप तथा रोजगार मेला

धनगढी, ७ फागुन । धनगढीमा भोलि (बिहिबार) देखि सीप तथा रोजगार मेला शुरु हुन लागेको छ ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा मेला हुन लागेको हो । बुधबार मेलाबारे जानकारी दिएको छ । उपप्रमुख कन्दकला रानाले मेलाको तयारी बारे जानकारी दिइन् । उनले धनगढी उपमहानगरपालिकाले १८ देखि ४० वर्षका युवाहरूलाइ विभिन्न ८ विधामा २९ किसिमका स्वरोजगारमूलक तालिम दिन लागेको बताइन् । एक महिना आयोजना हुने मेलामा उनले एक हजार ४० जनालाई तालिम दिन लागिएको जानकारी दिइन् ।
मेलाका लागि चार हजार ८३० जनाको आवेदन परेको तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए । मेलाका लागि सुदूरपश्चिमका सबै स्थानीय तहबाट युवाहरूले आवेदन दिएका थिए । प्रदेशको ९ जिल्लाका ४७ पालिकाबाट आवेदन आएपनि ३९ पालिकाका एक हजार ४० जनालाई तालिम दिइने उनले जानकारी दिए ।
विल्डिङ पेन्टरको तालिमका लागि २५ सिट, पुरोहितका लागि २५, वेटरमा ५०, टायल मार्बल फिक्स्चर तालिमका लागि ५०, फेसन डिजाइन, एडभान्स व्युटिसियन, लेखा व्यवस्थापन तालिम, एडभन्स टेलरिङ, कफी वारिस्ता लगायत बिभिन्न तालिमका लागी कोटा निर्धारण गरिएको थियो ।
उक्त तालिमका लागि छनौट भएका युवालाई तालिम दिन लागेको मेयर गोपाल हमालले बताए । तालिमका लागि छनौट भएका युवाहरूलाई एक महिनासम्म निःशुल्क तालिम दिइने छ । तालिम सकिएपछि स्वरोजगार बन्न अभिमुखीकरण तालिमसमेत दिइने छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मञ्चमा आयोजना हुने मेलाको उद्घाटन नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने जनाएको छ । मेला दिउँसो ठिक १ बजे उद्घाटन हुने मेलामा सबैलाई सहभागिताका लागि उपमहानगरले अपिल समेत गरेको छ ।