५ बैशाख २०८३, शनिबार April 18, 2026

राष्ट्रिय माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव

६ फाल्गुन २०८१, मंगलवार
राष्ट्रिय माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव

धनगढी, ६ फागुन । कैलालीको कैलारी गाउँपालिका–२ उजलीसेमरामा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव सम्पन्न भएको छ ।


मंगलबार एक भब्य कार्यक्रमको बिच विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाह प्रदेश सरकारले प्राथमिकताका आधारमा विकास निर्माणको काम गरिरहेको बताएका थिए ।
मुख्यमन्त्री शाहले विकास निर्माणको पहिचान गर्न आवश्यक रहेको औंल्याउँदै भने,“बढीभन्दा बढी जनता जोडिने र प्रतिफल दिने कार्यका लागि हामी एक ठाउँमा हुनुपर्दछ ।”
प्रदेश सरकारले शैक्षिक क्षेत्रमा सुधारको प्रयास गरिरहेको उनकोे भनाइ थियो । सरकारले बजेट निर्माण गर्ने बेलामा शिक्षण क्षेत्रको संरचना निर्माणका लागि थुप्रै माग आउने गरेको उल्लेख गर्दै उनले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट दिने गरेको बताए । “आवश्यकता कहाँनिर छ, तत्काल हामीले सम्बोधन गर्नु पर्ने कुन हो ?
विद्यार्थी, शिक्षकको चाप, पठनपाठनको स्तर हेरेर सरकारले बजेट दिने गरेको छ”, मुख्यमन्त्री शाहले भने । मुख्यमन्त्री शाहले प्रदेश सरकार एउटा मापदण्ड बनाएर अगाडि बढेको उल्लेख गरे ।
सीमित स्रोत, साधनको बिच राज्यले शैक्षिक क्षेत्रको निरन्तर विकास गरिरहेको उनकोे भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति टीकादेवी चौधरी भुल, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लगायतले मनतब्य राखेका थिए । यसैबिच, मुख्यमन्त्री शाहले विद्यालयको छात्रावासको पनि उद्घाटन गरेका थिए ।