५ बैशाख २०८३, शनिबार April 18, 2026

शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : गृहमन्त्री लेखक

२८ माघ २०८१, सोमबार
शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : गृहमन्त्री लेखक

धनगढी, २८ माघ । गृहमन्त्री रमेश लेखकले नेपालको शिक्षा क्षेत्रमा निजी, आवासीय तथा संस्थागत विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै गृहमन्त्री लेखकले यसको संरक्षण गर्ने कुरामा सरकार स्पष्ट रहेको पनि बताए ।


उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउने र निःशुल्क शिक्षा दिने काम सरकारको रहेको उल्लेख गर्दै संस्थागत, निजी र आवासीय विद्यालयका कारण सामुदायिक विद्यालयको स्तर नघटेको पनि बताए ।
उनले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन पनि चाँडै बन्ने बताएका छन् । उनले शिक्षा ऐन आएपछि निजी, संस्थागत, आवासीय विद्यालयहरुको सुरक्षा सरकारले गर्ने बताए । उनले भने,“तपाईहरुको लगानी खेर जान दिइन्न । लगानीलाई सुरक्षित गरिन्छ । र, तपाईहरु पनि राम्रो हुँदै जानू पर्दछ । तपाईहरुले आफै सुधार गर्नु भएन भने हस्तक्षेप गर्नु पर्ने ठाउँमा सरकार पुग्छ ।”
एक छुट्टै प्रसंगमा उहाँले सरकारले नीतिगत र कानुनी सुधारमा प्राथमिकता दिएको बताए । यसैगरी, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले निजी विद्यालयले विद्यार्थी जनशक्ति र पुँजी पलायन रोक्ने काम गरेको बताएका थिए ।


यसै बिच शिक्षा क्षेत्रमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा शिक्षाविद् एवम् सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, शिक्षासेवी कैलाशप्रसाद दाहाल रहेका छन् ।
यसैगरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, शिक्षासेवी डिल्लीराज जोशी सम्मानित भएका छन् । गृहमन्त्री लेखकले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।