धनगढी, २६ माघ । नेपाली कांग्रेसको थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा कैलारी गाउँपालिकाको हसुलियामा आयोजित प्रथम कैलाली जिल्ला भेला सम्पन्न भएको छ ।
शनिबार भएको कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथी रहेकी थिइन् । कार्यक्रममा उनी थारु महिला पहिरनमा देखिएकी थिइन् ।

डा. राणा अहिले कैलाली जिल्ला भ्रमणमा छिन् । नेपाली कांग्रेसका कार्यक्रमका लागि आरजु केही दिनअघि कैलाली पुगेकी हुन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लडेकी थिइन् । त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट उनका पति शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

त्यहाँ आरजु भने पराजित भइन् । त्यसयता उनी सोही क्षेत्रलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन कोसिस गरिरहेकी छन् । २०७९ को प्रतिनिधिसभामा भने उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । केही समयअघि मात्रै कैलाली–५ मा फेरि आफूले चुनाव लड्न चाहेको बताएकी थिइन् । त्यसयता फेरि उनको कैलाली आउजाउ बढेको छ ।






