९ बैशाख २०८१, आईतवार April 21, 2024

गलत इतिहास सच्याउन माग सहित ज्ञापनपत्र

१५ फाल्गुन २०८०, मंगलवार
गलत इतिहास सच्याउन माग सहित ज्ञापनपत्र

धनगढी, १५ फागुन । नेपाल पत्रकार महासंघको संस्थागत गलत इतिहास सच्याउन माग सहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले सात दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ ।


मंगलबार फोनिज कैलालीले नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशीलाई ज्ञापन पत्र बुझाएको हो । फोनिज केन्द्रिय समितिको सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् महासंघ केन्द्रलाई पुनःस्मरणका लागि सात दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ “नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरिएको थियो । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार भएन । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नियत विरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ । तसर्थ, ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौँ । हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौँ ।”
परिपत्रअनुसार यहि फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्लाहरुमा अनिश्चितकालीन तालाबन्दी समेत गरिने कार्य रहेको छ । ज्ञापन पत्र बुझाउन फोनिज सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम चौधरी, प्रदेश अध्यक्ष लखन चौधरी, थारु पत्रकार संघका केन्द्रिय उपाध्यक्ष प्रेम चौधरी, फोनिज कैलाली अध्यक्ष राम दहित, पूर्व अध्यक्ष अविनाश चौधरी, सचिव सागर कुश्मी, प्रेमलाल चौधरी, दुर्जन चौधरी लगायतको उपस्थिति रहेको थियो ।