२० मंसिर २०८१, बिहीबार December 5, 2024

स्ट्रीप लाइटले धनगढीको सौन्दर्य बढ्यो

१४ फाल्गुन २०८०, सोमबार
स्ट्रीप लाइटले धनगढीको सौन्दर्य बढ्यो

धनगढी, १४ फागुन । स्ट्रीप लाइटले धनगढीको ६ लेन सडकमा रात्रिकालिन सौन्दर्य बढेको छ । सडकमा जडान गरेको लाइट झक्कमक्क बल्दा धनगढीको सौन्दर्य बढाएको हो । धनगढीको भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको छ ।
स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका हुन् ।


स्ट्रीप लाइटको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई सुन्दर सहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए । उनले ६ लेन सडकमा जडान गरिएको स्ट्रीप लाइटले रात्रिकालिन सौन्दर्यलाई बढाएको बताए ।
‘स्ट्रीप लाइटको जडानले धनगढीको ६ लेन सडकको सुन्दरता बढाएको छ । प्रदेशको एक मात्र उपमहानगरलाई नमुना सहर बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्छ’, उनले भने, ‘धनगढीको विकास निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ ।’


उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ । यसैगरी, ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ । ६ लेन सडकको १४० वटा ट्री गार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ ।
विमानस्थल सडकमा करिब १० लाखको लागतमा सडक बत्ती जडान गरिएको र ६ लेन सडकमा ३१ लाखको स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताइन् । उनले करिब ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट जडान भएको बताइन् ।


“स्ट्रीप लाइट उद्घाटन कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, वडा अध्यक्ष र सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह खाती, नगरपालिकाका कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
स्ट्रीप लाइट जडान पश्चात् ६ लेन सडकको सुन्दरता थप बढेको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।

फोटो : दिपक उपाध्याय