७ फाल्गुन २०८१, बुधबार February 19, 2025

रेशमलाई जेलमुक्त गराउन मुख्यमन्त्री शाहको आश्वासन

२८ माघ २०७९, शनिबार
रेशमलाई जेलमुक्त गराउन मुख्यमन्त्री शाहको आश्वासन

धनगढी,२८ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीलाई रिहाइका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक समेत रहेका चौधरीलाई रिहकाइका लागि मुख्यमन्त्री शाहले आफू सक्दो पहल गर्ने आश्वासन दिएका हुन ।
मुख्यमन्त्री शाह शनिबार विहान चौधरीकी आमा र परिवारका अन्य सदस्यसँग घरमा पुगेर भेट गर्नुका साथै आश्वासन दिएका थिए । ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, उनले भने ।
यसै बिच मुख्यमन्त्री शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी बिच भेटवार्ता भएको छ । शनिबार टीकापुरमा उनीहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले बताए । ‘उहाँहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि मेरो नेतृत्वमा सरकार गठन भएको छ । मुख्यमन्त्री भएपछि पहिलो पटक उहाँसँग भेटघाट भयो,’ शाहले भने, ‘समान्य राजनीतिक विषयमा कुराकानी भयो ।’
तपाईले उहाँसँग विश्वासको मत पनि माग्नु भयो ? भन्ने जिज्ञाशामा शाहले भने, ‘हो, त्यो विषयमा पनि समान्य कुरा भयो ।’
सुदूरपश्चिममा एमालेका राजेन्द्र सिंह रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको नाउपाले माग, मुद्दा सम्बोधन नभएको भन्दै विश्वासको मत नदिएपछि बिहीबार उनी नेतृत्वको सरकार ढलेको थियो ।
बिहीबार नै प्रदेश प्रमुख देवराज जोशीले ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रबार पदभार ग्रहण गरेका शाहले शनिबार टीकापुर पुगेर नाउपाकी अध्यक्षलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका शाहलाई अहिलेको अवस्थामा कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी) का ४ र स्वतन्त्र सांसद डा.तारा जोशी समेत गरेर २४ जनाको समर्थन देखिन्छ । तर उनी नाउपा र नेकपा माओवादी केन्द्रलाई समेत विश्वासमा लिने रणनीतिमा सक्रिय छन् ।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ ।