१४ मंसिर २०८०, बिहीबार November 30, 2023

हसुलियामा सिकलसेल एनिमिया र थालासेमियाको बिरामीका स्वास्थ्य परीक्षण

८ फाल्गुन २०७८, आईतवार
हसुलियामा सिकलसेल एनिमिया र थालासेमियाको बिरामीका स्वास्थ्य परीक्षण

धनगढी । कैलालीको हसुलियामा सिकलसेल एनिमिया र थालासेमियाको बिरामीका स्वास्थ्य परीक्षण गरिएको छ ।
सेती प्रादेशिक अस्पताल र कैलारी गाउँपालिकाको आयोजनामा एक दिने स्वास्थ्य शिविरको आयोजना गरेर सो गाउँपालिकामा रहेका सिकलसेल र थालासेमियाको बिरामीका स्वास्थ्य परीक्षण गरिएको हो ।
कार्यक्रममा बिरामीहरुका स्वास्थ्यमा परेका असर, उनीहरुको पोषण स्थितिको अवस्था लगायतबारे जाँच भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । सिकलसेल एनिमियाका बिरामीहरुबारे अनुसन्धान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा स्वास्थ्य सम्बन्धी जानकारी पनि गराइएको थियो । सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. प्रदीप मिश्रसहितको स्वास्थ्यकर्मीको टोलीले सिकलसेल बिरामीका स्वास्थ्य अवस्थाबारे चेकजाँच र अनुसन्धान गरेको थियो ।


कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी सत्गौवां, सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सिकलसेल एनिमियाका बिरामी लगायतको उपस्थिति रहेको थियो ।

कैलारी गाउँपालिकामा एक सयभन्दा बढी सिकलसेल एनिमिया पीडित व्यक्ति रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । सिकलसेल एनिमिया परीक्षणका लागि गाउँपालिकामा चार÷पाँच वटा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिने सापकोटाले जनाए ।