धनगढी । कैलारी गाउँपालिकाको नवौं गाउँ सभा अर्थात हिउँदे अधिवेशन बुधबार सम्पन्न भएको छ । माघ ११ गतेदेखि सो गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको थियो ।
यो अधिवेशनमा गाउँ सभाबाट छ वटा ऐन, कानून पारित भएको छ । यसैगरी, आवश्यक अरु निर्णय पनि गाउँ सभाले पास गरेको छ । कैलारी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकालमा गाउँ सभाबाट ५८ वटा ऐन, कानून बनाएका छन् ।
गाउँ सभाको हिउँदे अधिवेशनको अन्तिम् बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आफूहरु विकासका लागि स्थानीय सरकारमा जनप्रतिनिधिको रुपमा आएको बताए । उनले पाँच वर्षका लागि स्थायी सरकारमा आएका ४९ जना जनप्रतिनिधिले एकताको प्रतिक्रियाबाट गाउँपालिकाको विकास गरेको उल्लेख गरे ।
‘हामी विभिन्न पार्टीबाट, फरक क्षमता, फरक विचार, फरक चुनावी नारा बोकेर स्थानीय सरकारमा आएका थियौं’, अध्यक्ष चौधरीले भने । ‘तर, सबैको क्षमताको एकता गाउँपालिका रह्यौं । जुनसुकै पार्टीबाट आए पनि गठनबन्धनको सरकार चलायौं । सत्तापक्ष र प्रतिपक्ष भन्ने थिएन ।’ उनले आफूहरु आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा विकास गर्न सफल भएको उल्लेख गरे ।
भूगोलको हिसाबले कठिन भएको ठाउँमा बजेट विकेन्द्रीकरण गरेर विकास गरेको अध्यक्ष चौधरीले बताए । उनले स्थानीय तहमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व रहेको उल्लेख गर्दै विकासका लागि राजनीतिक र प्रशासनिक दुवै नेतृत्व एकजुट भएर काम गर्न आवश्यक रहेको औंल्याए । अध्यक्ष चौधरीले ब्युरोक्रेसीले टाउकोमा टेकेमा राजनीतिक नेतृत्व कमजोर हुने उल्लेख गर्दै कतिपय अवस्थामा ब्युरोक्रेसीले कार्यशैली सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले गाउँपालिकाले बनाएको कानून सबैले अक्षरस पालना गर्न जरुरी रहेको बताए । निकट भविष्यमा आफूहरु जनप्रतिनिधिको जिम्मेवारीमा रहे वा नरहे पनि कैलारी गाउँपालिकाको विकास गर्नु सबैको दायित्व रहेको अध्यक्ष चौधरीको भनाइ थियो ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा बसेको गाउँ सभा बैठकले गाउँ सभामै उठेका केही विषयमा आधारित निर्णयसमेत पास गरेको छ । सभामा गाउँ सभाका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, सूचना अधिकारी यगम कलेल, शिक्षा शाखा प्रमुख गणेश मिश्र, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, प्रशासन तथा जिन्सी शाखा प्रमुख सोमप्रसाद चौधरी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।