धनगढी । कैलालीस्थित कैलारी गाउँपालिकाको गाउँ सभाबाट बरघर भलमन्सा प्रणाली संरक्षण, सम्बद्र्धन र विकास ऐन सहित छ वटा ऐनहरु पास भएको छ । मंगलबार बसेको सो गाउँपालिकाको गाउँ सभा बैठकले विभिन्न छ वटा ऐन पास गरेको हो ।
गाउँपालिकाको अध्यक्ष लाजुराम चौधरीको अध्यक्षता बसेको बैठकले कैलारी गाउँपालिकाको बरघर भलमन्सा प्रणाली संरक्षण, सम्बद्र्धन र विकास ऐन २०७८, कैलारी गाउँपालिकाको स्थानीय सेवा ऐन २०७८ सभाबाट पास गरेको छ । यसैगरी, कैलारी गाउँपालिकाको युवा नीति २०७८, कैलारी गाउँपालिकाको अनुगमन तथा सुपरीवेक्षण समिति कार्यविधि २०७८ पास गरेको छ । यस्तै, कैलारी गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति कार्यविधि २०७८ र कैलारी गाउँपालिकाको स्थानीय राजस्व समिति सञ्चालन कार्यविधि २०७८ सभाबाट पास भएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।
गाउँ सभा बैठकले विभिन्न बाटो मर्मत गर्ने निर्णयलाई पास गरेको छ । वर्षाका कारण धेरै ठाउँमा बाटाघाटाहरु बिग्रेको जनाइएको छ । यसैगरी, पुरैना तालको पानी किसानले प्रयोग गर्न पाउने सवालमा पनि गाउँ सभाले निर्णय गरेको छ । कमल पोखरी नामले चिनिदैं आएको सो तालको पानी वडा नम्बर ३ का जनताले पहिलेदेखि उपयोग गर्दै आएका छन् । तर, पछिल्ला दिनमा तालमा व्यावसायिक माछा पालन कार्य भएपछि किसानले राम्ररी पानी उपभोग गर्न नपाएको जनाइएको छ ।
यस सम्बन्धमा ठेकेदार र गाउँपालिकाबीच भएको द्विपक्षीय सम्झौता परिमार्जन गरेर किसानलाई सिँचाइ गर्न दिइने गाउँ सभाले निर्णय गरेको छ ।
थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले हालसम्म बनाएको ऐन, कानूनको सङ्ख्या ५८ पुगेको छ । यसअघि, सो कार्यलयले गाउँ सभाबाट ऐन १२ वटा, कार्यविधि २६ वटा, निर्देशिका छ वटा बनाएको थियो । यसैगरी, नियमावली र नीति तीन÷तीन वटा, मापदण्ड र दिग्दर्शन एक÷एक वटा निर्माण भइसकेको प्रवक्ता चौधरीले जानकारी दिए ।
गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, गाउँ सभा सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, सूचना अधिकारी यगम कलेलसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो गाउँपालिकाको अर्को बैठक बुधबार ११ बजे बोलाइएको छ । सोही दिन हिउँदे अधिवेशन समापन हुने जनाइएको छ ।