धनगढी, २४ माघ । कैलालीस्थित कैलारी गाउँपालिकाको सोमबार बसेको गाउँ सभा बैठकमा विषयगत समितिहरुले प्रगति विवरण प्रस्तुत गरेका छन् ।
नवौं अधिवेशनको दोस्रो बैठकमा पाँच वर्षका दौरान गरिएका विभिन्न कार्यको प्रगति विवरण विषयगत समितिहरुले प्रस्तुत गरेका हुन । गाउँपालिका एवम् गाउँ सभाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष लक्ष्मी सत्गौंवाले आफ्नो नेतृत्वको न्यायिक समिति, राजस्व परामर्श र गाउँपालिका स्तरीय अनुगमन समितिको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।
सो क्रममा उनले पाँच वर्षको दौरान गाउँपालिका स्तरीय अनुगमन समितिले सबै योजना अनुगमन गरेको बताइन् । उनले अधिकांश योजनाहरु सफल भएको र केही योजना पूरा हुन नसकेको उल्लेख गरिन् । ‘पाँच वर्ष काम गर्ने क्रममा धेरै योजनाहरु सफल भएका छन्’, गाउँपालिकास्तरीय अनुगमन समितिका संयोजकसमेत रहेकी उनले भनिन् । ‘तर, केही योजनाको काम पूरा हुन सकेनन् ।’ बजेट अपुग भएका कारण त्यस्ता योजना पूरा हुन नसकेको उनको ठम्याइ थियो । पाँच लाख रुपैयाँभन्दा माथिको योजना अनुगमन गर्ने अधिकार गाउँपालिका स्तरीय अनुगमन समितिलाई रहेको छ ।
यसैगरी, गाउँपालिकास्तरीय न्यायिक समितिमा हालसम्म ५०० मुद्दा परेको उल्लेख गर्दै न्यायिक समितिका संयोजकसमेत रहेकी उपाध्यक्ष सत्गौंवाले धेरै मुद्दामा मेलमिलाप भएपनि दुई वटा मुद्दामा समिति असफल भएको बताइन् । ‘असफल भएको मुद्दाको बारे न्यायिक समितिले कार्यपालिका बैठकमा बारम्बार कुरा राख्दै आएको छ’, उनले भनिन् । संयोजक सत्गौंवाले न्यायिक समितिले ५०० मुद्दामा छिनोफानो गर्ने क्रममा एकदम पारदर्शी तरिकाले मेलमिलाप गराएको उल्लेख गरिन । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्तिलाई प्राथमिकता दिएर न्यायिक समितिले काम गरेको छ’, उनले भनिन् ।
चालु आर्थिक वर्षको हालसम्म ७१ मुद्दा परेकोमा ५१ वटा मुद्दामा मेलमिलाप गराएको सत्गौंवाले जनाइन् ।
यस्तै, बैठकमा पूर्वाधार विकास समितिका संयोजक कमलप्रसाद चौधरीले विगतदेखि हालसम्म गरिएका कामको लेखाजोखा गर्न आवश्यक रहेको बताए । उनले आर्थिक वर्ष २०७४÷०७५ देखि चालु आर्थिक वर्षसम्म आउँदा गाउँपालिकामा २५ वटा सरकारी भवन, नौ वटा सहकारीको भवन, ३७ वटा क्लब, समूह लगायतका विभिन्न सामुदायिक भवन निर्माण भएको जनाए । यस्तै, गाउँपालिकामा ६.५ किलोमिटर कालोपत्रे भएको, ५५ किलोमिटर लुज ग्राभेल भएको, तराई मधेश कार्यक्रममार्फत ३.८ किलोमिटर, गाउँपालिकामार्फत २३.१, साझेदारीमार्फत १०.२ किलोमिटर सडक स्तरोन्नति भएको उल्लेख गरे । त्यस्तै, भौतिक तथा जैविक गरी १५ किलोमिटर तटबन्ध निर्माण भएका, विद्यालय भवन लगायत शौचालय २२ वटा निर्माण लगायतका कार्य भएको बताए । ‘हामी आउनुभन्दा पहिले एक गाउँबाट अर्को गाउँसम्म जाने बाटो थिएन’, उनले भने । ‘अहिले सबै गाउँसम्म सहज रुपमा जान सक्ने बाटो बनेको छ ।’
विधेयक समितिका संयोजक राजेश सुनार अहिलेसम्म ऐन, नीति, निर्देशिका, कार्यविधि लगायत ५२ वटा ऐनक, कानून निर्माण गरेको जनाए । उनले आवश्यक सबै ऐन, नीति निर्माण गरिएको उल्लेख गरे । यस्तै, दलित समुदायको उत्थानको लागि गाउँपालिकाले थप कार्यक्रम ल्याउन आवश्यक रहेको औंल्याए ।
आर्थिक विकास समितिका संयोजक कैलाशप्रसाद चौधरीले आफ्नो समिति अन्तर्गत पर्ने कृषि, उद्योगका कार्यक्रमहरु सफल रहेको बताए । उनले कृषि यान्त्रिकीकरण, कृषि व्यवसायीकरण र बजारीकरण, पर्यटन सम्बन्धी कार्यक्रम सबै सम्पन्न भएको बताए । यस्तै, किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, मोटर पम्प वितरण गरिएको, एक वडा एक पकेट कार्यक्रम अन्तर्गत हरेक वडामा पकेट कार्यक्रम सञ्चालन गरिएको जनाए । एक सहकारी एक उद्योग अन्तर्गत तीन वटा सहकारीसंग सम्झौता गरेकोमा केही उद्योग स्थापना भइसकेको चौधरीले जनाए ।
यसैगरी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद चौधरीले गाउँपालिकामा विपद् व्यवस्थापनका लागि जैविक तटबन्ध निर्माण, खाली ठाउँ, नदी किनारमा वृक्षारोपण, तालको संरक्षण कार्य भएको जनाए । यस्तै, विपद् प्रतिकार्य सम्बन्धी तालिम प्रदान, समस्यामा परेकालाई आपतकालीन सहयोग, कोभिड महामारी रोकथाम सम्बन्धी कार्यक्रम, वनमा आधारित उद्योग स्थापना लगायतका कार्य भएको उल्लेख गरे । उनले गाउँपालिकामा रहेका तालतलैयाहरुलाई एकद्वार प्रणालीमार्फत आयआर्जनको लागि उपयोग गर्न आवश्यक रहेको बताए ।
विद्युत विस्तार समितिका संयोजक प्रेम चौधरीले कैलारी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म उत्कृष्ट काम गर्ने पर्यत्न गरेको बताए । उनले नेपालमै कैलारी गाउँपालिकाको नाम उत्कृष्ट गाउँपालिकाको रुपमा आउँदा गर्व लाग्ने गरेको उल्लेख गर्दै विविध आरोह–अवरोध र चुनौतीका बावजुद राम्रो काम गरेको बताए । ‘हाम्रो क्षमता र गाउँपालिकाको पूँजीले भ्याएसम्म हामीले राम्रो काम गरेका छौं’, चौधरीले भने ।
त्यस्तै, सामाजिक विकास समितिका संयोजक भागरती चौधरीले गाउँपालिका साक्षर घोषणा भएको र जातीय छुवाछुत तथा भेदभावमुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा रहेको बताइन् । उनले सामाजिक कुरीतिविरुद्धको नीति, लक्षित वर्गको कार्यविधि लगायतका ऐन, नियम निर्माण भएको उल्लेख गरिन । यस्तै, गाउँपालिकामा सामाजिक सचेतना, सरसफाई सम्बन्धी कार्यक्रम भएको, सिकलसेलको परीक्षण भएको, स्वास्थ्य बीमा लागु रहेको र सिकलसेलका बिरामीलाई गाउँपालिकाबाट यातायात खर्च दिने व्यवस्था गरिएको जनाइन् । उनले सबै वडामा स्वास्थ्य पहुँच भएको बताइन् ।
गाउँस भामा उठेको विषयमा स्पष्ट पार्दै गाउँ सभाका अध्यक्ष चौधरीले कैलारी गाउँपालिकाको भलमन्सा÷बडघर प्रणाली संरक्षण, सम्बद्र्धन र विकास ऐन २०७८ मा केही बुँदाहरु हटाएको स्पष्ट पारे । उनले भलमन्सा, बडघरको सवालमा गाउँपालिकाले कार्यविधि बनाउने बताए । अध्यक्ष चौधरीले भलमन्साको अवधि एक वर्ष रहने नै लोकतान्त्रिक विधि रहेको उल्लेख गर्दै वडा कार्यालयहरुबाट उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरिने स्पष्ट पारे ।
गाउँ सभा बैठकमा सभाका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, सामाजिक विकास शाखा प्रमुख यगम कलेल लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरेर स्वास्थ्य मापदण्डको पालना गरेर बैठक सञ्चालन गरिएको थियो । गाउँ सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।