१ जेष्ठ २०८२, बुधबार May 14, 2025

जुवा तास र लागुपदार्थ नियन्त्रण गर्न सुझाव

१८ माघ २०७८, मंगलवार
जुवा तास र लागुपदार्थ नियन्त्रण गर्न सुझाव

मसुरिया । कैलालीको मसुरिया क्षेत्रमा लागुपदार्थको सेवन र ओसारपसारमा वृद्धि भएको छ । आज इलाका प्रहरी कार्यालय मसुरियामामा भएको चियापान तथा परिचयात्मक कार्यक्रममा सहभागी जनप्रतिनिधि राजनीतिक बुद्धिजीवी व्यापारीले पछिल्लो समय लागुपदार्थको प्रयोगले समाजमा शान्ति सुरक्षा चुनौतीपुर्ण बन्दै गएको बताएका छन् ।
इलाका प्रहरी कार्यालय मसुरियामा सरुवा भएर आएका प्रहरी नायब निरीक्षक डेनी बहादुर स्वार सँगको छलफलका क्रममा मसुरियामा जुवा तास, बेस्याबृत्ति र लागुपदार्थको कारोबारले यस क्षेत्रको बदनाम भएको भन्दै प्रहरी र स्थानीयको संयुक्त पहलमा नियन्त्रण गर्न हातेमालो गर्नुपर्ने बताएका हुन ।
विगतमा इलाका प्रहरी कार्यालय मसुरियामा रहेको नेतृत्वले खासै चासो नदेखाएको र प्राप्त सुचनाको चुहावट गर्ने गरेकोले सामाजिक रुपमा विकृति विसङ्गति नियन्त्रण बाहिर गएको उल्लेख गर्दै पहिलो संविधानसभाका सदस्य कृष्ण कुमार चौधरीले शान्ति सुरक्षा कायम गर्न राजनीतिक प्रभावबाट माथि उठेर काम गर्न आग्रह गरे ।
मेडिकल,किराना पसल, खोका पसलबाट लागुपदार्थको कारोबार व्यापक रूपमा फैलिएको र विद्यालय उमेर समूहका किशोर/युवा लुटपाट चोरी तस्करीमा संलग्न भएको भन्दै रातिको समयमा घुमफिर गर्ने समुहलाई कारबाहीको दायरामा ल्याउनुपर्ने गौरीगंगा न.पा वडा नं ७ का अध्यक्ष दलबहादुर कुमालले बताएका थिए ।
सुनसान सार्वजनिक स्थल सामुदायिक वन क्षेत्रमा शंकास्पद रुपमा बस्ने व्यक्ति समुह माथि प्रहरीले निगरानी राख्नुपर्नेमा वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले सुझाव दिएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी , सामाजिक अगुवा र संघसंस्थाका प्रतिनिधि तथा पत्रकार रहेको थियो ।