१७ माघ २०८२, शनिबार January 31, 2026

साहित्य महोत्सव र विज्ञान प्रर्दशनी

१७ माघ २०८२, शनिबार
साहित्य महोत्सव र विज्ञान प्रर्दशनी

धनगढी, १७ माघ । धनगढी–५ हसनपुरस्थित एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा साहित्यिक महोत्सव–२०८२ तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीले पानसमा बत्ती बालेर र सहिदहरूको तस्बिरमा माल्यार्पण महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै डा. जोशीले साहित्यले विद्यार्थीको बौद्धिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय तहबाटै पठन संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए । सहिद दिवसको अवसरमा देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने अमर सहिदप्रति कोटि–कोटि नमन व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका थिए ।


महोत्सवको उद्देश्य साहित्य, सिर्जनशीलता र पठन संस्कृतिको विकास गर्नु रहेको विद्यालयकी प्राचार्य अनिता पन्तले बताइन् ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका वरिष्ठ शिक्षक केशव राज भट्टले व्यक्त गरेका थिए । महोत्सवमा प्रतियोगिता अन्तर्गत छन्दकविता वाचन, स्ल्याम कविता वाचन, कृति समीक्षा र लघुकथा वाचन आयोजना गरिएको थियो । प्रतियोगितामा कैलाली–धनगढी, अत्तरिया र मालाखेतीका १५ विद्यालयका करिब १०० विद्यार्थीले सहभागिता जनाएका थिए। निर्णायक मण्डलमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशी, सीताराम भट्ट, उप–प्राध्यापक राजेन्द्र पन्त र नास्ट क्याम्पसका उप–प्राध्यापक नवराज जोशी रहेका थिए।

कार्यक्रममा साहित्यकार तथा कवियत्री कोपिला शर्मा (कल्प), युवा समाजसेवी तेज पुरुष र भारत लखनउका वरिष्ठ साहित्यकार, कवि तथा पत्रकार के.के. वत्सको पनि उपस्थिति रहेको थियो।कविता वाचनमा सत्यवती एकेडेमीकी ताजकी मल्ल प्रथम, डिस्कभरीकी आयुसा खड्का दोस्रो र एक्सिस बिध्याश्रमका चाणक्य भट्ट तृतिय भए। लघुकथामा एक्सिसकी असिमा चन्द प्रथम, ग्ली एकेडेमीकी आयुषा देशकोटा दोस्रो र सैनिक स्कुलकी रोजिका जेठारा तृतिय भइन्।यस्तै अन्य बिद्याहरुमा प्रथम दितीय र तृतिय भएका छन् । प्राचार्य पन्तले प्रत्येक वर्ष माघ १६ गते सहिद दिवसको अवसरमा आयोजना हुँदै आएको महोत्सव यस वर्ष पनि निरन्तरता दिएको जानकारी दिइन् ।


बालबालिकामा घट्दो पठन संस्कृतिलाई प्रवद्र्धन गर्दै सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको थियो।साहित्य महोत्सवसँगै विज्ञान तथा ललित कला प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसमा विद्यार्थी, अभिभावक र अतिथिहरूले अवलोकन गरे। शिक्षिका तुलसी ठाकुरले साइन्स एक्जिबेसनको महत्वबारे जानकारी दिँदै विद्यार्थीहरूले सिकेको ज्ञान व्यवहारमा उतार्ने अवसर पाएको बताइन्।
प्रदर्शनीमा ३५० भन्दा बढी विद्यार्थी सहभागी थिए र विभिन्न विषयमा आधारित विज्ञान परियोजना तथा नमूना प्रस्तुत गरिएको थियो। हाल विद्यालयमा प्लेग्रुपदेखि कक्षा १२ सम्म करिब २८०० विद्यार्थी अध्ययनरत छन् भने १५० भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्। विद्यालयले आगामी दिनमा बृहत पुस्तकालय निर्माण गर्ने योजना रहेको पनि जानकारी दिएको छ। उत्कृष्ट विद्यार्थीहरूलाई कार्यक्रमको अन्त्यमा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।