धनगढी, १२ माघ । थारू समुदायको हराउँदै गरएको लोककला, रिती संस्कृति, संरक्षण सम्र्बद्धन तथा पहिचान बचाउनका लागि मजगाउँमा गोदावरी नगर स्तरीय थारु माघ महोत्सव २०८२ सुरु भएको छ ।
‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा सुरु भएको तीनदिने माघ महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले गरेका हुन् ।

थारू कल्याणकारिणी सभा गोदावरी नगरसमिति, बरघर भलमन्सा नगरसमिति, मजगाउँ थारु समुदायिक होमस्टे र न्यू खुँटिया चारपाटे युवा क्लबको आयोजनामा महोत्सव आयोजना भएको हो । महोत्सव माघ १२, १३ र १४ गतेसम्म सञ्चालन हुने भएको हो ।

थारु कल्याण कारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीको अध्यक्षतमा उद्घाटन कार्यक्रम भएको थियो । महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहेको छ ।



