७ फाल्गुन २०८२, बिहीबार February 19, 2026

कलाकारको अपमान गरियो : अन्जु कुश्मी

८ माघ २०८२, बिहीबार
कलाकारको अपमान गरियो : अन्जु कुश्मी

धनगढी, ८ माघ । गायिका तथा मोडेल अन्जु कुश्मीले कलाकारको व्यवसायिक मर्यादामाथि अपमान भएको बताएकी छन् ।
बर्दिया जिल्लामा श्री हरियाली क्लबको आयोजनामा सञ्चालन भइरहेको बार बर्दिया कृषि, पर्यटन, व्यापार तथा खेलकुद महोत्सवमा आमन्त्रित गरेर पनि वेवास्ता गरि व्यवसायिक मर्यादामाथि ठेस पुर्याएको बताएकी हुन् । आयोजक पक्षले प्रस्तुतीका लागि बोलाएर पनि सम्पर्कमा नआउनुले आफू अपमानित भएको महसुस गरेर कार्यक्रमस्थलबाटै फर्किनु परेको उल्लेख गरेकी छन् ।
उनी आफ्नो आफ्नो आधिकारिक फेसबुक स्टाटस मार्फत आयोजकसँग सम्पर्क नहुँदा तथा निर्धारित समयसम्म पनि मञ्चमा प्रस्तुति दिन नपाई अपमानित भएको अनुभूति भएको जनाउँदै कार्यक्रम नगरी फर्किनु परेको उल्लेख गरेकी हुन् । उनले कलाकारको सम्मान र व्यावसायिक मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको र आगामी दिनमा आयोजकलाई यस्तो नगर्न सुझाएकी पनि छन् ।


यस घटनाप्रति राष्ट्रिय थारु कलाकार मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ । मञ्चका अध्यक्ष विनय वैद्यको हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै कलाकारलाई बोलाएर उचित व्यवस्थापन नगर्नु आयोजकको गैरजिम्मेवार र निन्दनीय कार्य भएको उल्लेख गरेको छ । साथै, कलाकारको सम्मान सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना नदोहोर्याउन आयोजक पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।
कलाकारको मेहनत, समय र पहिचानको सम्मान गर्नुपर्नेमा यस्ता घटना हुनु सम्पूर्ण कलाकार समुदायका लागि दुःखद भएको मञ्चको भनाइ छ । यस विषयमा आयोजक पक्षबाट औपचारिक स्पष्टिकरण र क्षमायाचनाको अपेक्षा गरिएको छ ।