४ बैशाख २०८३, शुक्रबार April 17, 2026

सरोज चौधरी ३१औँ पटक भलमन्सामा चयन

५ माघ २०८२, सोमबार
सरोज चौधरी ३१औँ पटक भलमन्सामा चयन

धनगढी, ५ माघ । कैलालीका सरोज चौधरी ३१औँ पटक आफ्नो गाउँको भलमन्सा (बरघर) मा चयन भएका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको उनी ३१औँ पटक भलमन्सा भएका हुन् ।
चौधरी २०५२ सालदेखि लगातार सो गाउँको भलमन्सा बन्दै आएका छन् । माघ ३ गते शनिबार भएको गाउँको भुरा खेलले उनलाई सर्वसम्मतले भलमन्साको जिम्मेवारी सुम्पेको हो । गाउँ समाजमा आफूले निःस्वार्थ रूपमा बिनापारिश्रमिक सेवा गर्दैआएको भलमन्सा चौधरीले बताए । पहिले बुबा–बाजेले गाउँको नेतृत्व गरेकोमा उनीहरू बितेपछि त्यो जिम्मेवारी आफ्नो काँधमा आएको उनले चर्चा गरे ।
यसअघि, चौधरीका बुबा रामचन्द्र र बाजे मन्ठुले धनगढी गाउँको भलमन्साको रूपमा आफ्नो जीवनभर काम गरेका थिए । उनको परिवारले तीन पुस्तादेखि धनगढी गाउँको नेतृत्व गर्दैआएको छ ।
गाउँ समाजको नेतृत्वको जिम्मेवारी पाएपछि भलमन्साले विकास निर्माण, आपसी मेलमिलाप, सरोकारवालासँग समन्वय लगायतको काममा प्रभावकारी भूमिका निर्वाह गर्दैआएको स्थानीयको भनाइ छ । चौधरीले राम्रो काम गर्दैआएकाले उनलाई फेरि भलमन्साको रूपमा चयन गरेको धनगढी गाउँका स्थानीय सूर्य चौधरीले बताए । साथै उनले कन्हैया चौधरी ५औँ पटक चौकीदारमा चयन भएको जानकारी दिए ।