४ बैशाख २०८३, शुक्रबार April 17, 2026

नाष्ट कलेजद्वारा पाइलट टीका चौधरीलाई सम्मान

२९ पुष २०८२, मंगलवार
नाष्ट कलेजद्वारा पाइलट टीका चौधरीलाई सम्मान

धनगढी, २९ पुस । थारू समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई सम्मान गरिएको छ ।
नाष्ट कलेज धनगढीले चौधरीलाई सम्मान गरेको हो । नाष्ट कलेजका प्राचार्य शिवहरी मुडभरीले चौधरी र उनका बुवा मान बहादुर चौधरीलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेका हुन् । चौधरी नाष्ट कलेजकी पूर्व विद्यार्थी हुन् । उनी २०७८ मा विज्ञान तर्फ कक्षा ११ मा भर्ना भई २०८० मा पासआउट भएकी थिइन् ।


धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गरेकी छन् । यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उहाँले अझै एक सय घण्टाको एकल उडान बाँकी रहेको छ ।
आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिनासम्म लाग्न सक्ने चौधरीले बताइन् । बिदामा आएकी उनले पाइलट तालिम गाह्रो रहने गरेको उल्लेख गर्दै आफूले हिम्मत, सङ्घर्ष गरेर तालिम पूरा गर्ने क्रममा रहेको उल्लेख गरिन् ।


थारू समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय रहेको प्राचार्य मुडभरीले बताए । साथै उनले आफ्नै विद्यार्थीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए ।