१४ बैशाख २०८३, सोमबार April 27, 2026

पाइलट मिलन चौधरीलाई सम्मान

२५ पुष २०८२, शुक्रबार
पाइलट मिलन चौधरीलाई सम्मान

धनगढी, २५ पुस । कैलालीको धनगढी उपमहागरपालिका–५, हसनपुरका पाइलट मिलन चौधरीलाई सम्मान गरिएको छ ।
बातचित घर धनगढी आपन ३७औं श्रृंखलाको अवसरमा उनलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधान, किसन्वा माधब चौधरीले उनलाई खादामाला र सम्मान पत्र सहित सम्मान गरेका थिए । उनी फिलिपिन्सको टप फ्लाइट एकेडेमीबाट पाइलट कोर्स पूरा गरेका हुन् ।


सम्मान पश्चात पाइलट चौधरीले आफू सानो छँदा बुवालाई मेसिनरीसँग खेलेको देखेर आफूपनि मेसिनरी तर्फ आकार्षण बढेको अनुभव सुनाए । उनले घरपरिवारको साथ सहयोगले नै आफू पाइलट बन्न सफल भएको पनि सुनाए ।


धनगढी स्थित एक्सिस विद्याश्रमबाट एसएलसी उतीर्ण गरेको उनले काठमाण्डौंको नेपाल मेगा कलेजबाट विज्ञान विषयमा प्लस टु उतीर्ण गरि पाइलट कोर्षका लागि फिलिपिन्स गएका थिए । २०१ घण्टा प्लेन उडाएर कमर्सियल पाइलटको लाइसेन्स प्राप्त गरेका चौधरीले देशमै प्लेन उडाउने सुनाए ।


केही दिन अघि थारू समुदायबाट पहिलो महिला पाइलट बनेर इतिहास रचेको र समुदायको इज्जत बढाएको भन्दै बातचित घरले धनगढी उपमहानगरपालिका‐१३ कैलाली गाउँकी टीका चौधरीलाई पनि सम्मान गरेको थियो । बातचित घरका बरघरिया करिया प्रधानले मिलन र टीकाले सिङ्गो थारू समुदायको इज्जत बढाएको भन्दै प्रशंसा पनि गरेका थिए ।
सोही अवसरमा माघ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी, ओम आशा अस्पताल प्रालिका सञ्चालक जगतराम चौधरी, डा. ललित चौधरी, दुज्जी चौधरी, मजगाउँ होमस्टेका कल्पना चौधरी लगायत शुभकामना व्यक्त गरेका थिए ।