५ बैशाख २०८३, शनिबार April 18, 2026

फागुनमा फूलबारी महोत्सव आयोजना हुने

१४ माघ २०८१, सोमबार
फागुनमा फूलबारी महोत्सव आयोजना हुने

धनगढी, १४ माघ । धनगढी उपमहानगरपालिका–१४ स्थित एच गाउँमा फूलबारी महोत्सव २०८१ आयोजना हुने भएको हो ।
फूलबारी–११ स्पोर्टस् क्लबको आयोजनामा अगामी फागुन ९ गतेदेखि १८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । व्यापार, उद्यम, कृषि, पर्यटन, संस्कृतिको प्रवर्धन एवम् विकास गर्ने उद्देश्यले पाँचौं संस्करणको फूलबारी महोत्सव न्यू बुद्ध स्पोर्टस् युवा क्लबको खेल मैदानमा महोत्सव आयोजना हुने जनाइएको छ ।
फूलबारी क्षेत्रको विकास, समृद्धिमा टेवा दिन महोत्सव आयोजना गर्दै क्लबका अध्यक्ष महेश गोलेले बताए । “यस क्षेत्रमा लगानीको वातावरण बनाउन, निकासी हुने वस्तुको पहिचान र जडीबुटी, कृषिको प्रवर्धन गर्न महोत्सवले सहयोग पुग्ने छ” उनले भने ।
१० दिनसम्म आयोजना हुने महोत्सवमा एक सयदेखि १५० वटासम्म स्टल रहने आयोजकले जनाएको छ । व्यापारिक, कृषि, खानपान लगायतका स्टल रहने अध्यक्ष गोलेले बताए । यसैगरी, महोत्सवमा गोलमेच सम्मेलनका साथै विभिन्न समुदायको सांस्कृतिक नृत्य प्रतियोगिता हुने जनाइएको छ ।
फूलबारी महोत्सवलाई फूलबारी, धनगढी, उर्मा, चौमाला, हसुलिया लगायतका क्षेत्रका गरी करिब पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सव आयोजनाका लागि करिब ५० लाख रुपियाँ खर्च हुने जानकारी दिइएको छ ।
क्लबले फूलबारी क्षेत्रको सम्भावना उजागर गर्न र व्यापार, उद्यम, कृषि, कला क्षेत्रको प्रवर्धन गर्नका लागि २०७३ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण रोकिएको महोत्सव यस वर्षदेखि पुनः आयोजना हुनेभएको छ ।