७ फाल्गुन २०८१, बुधबार February 19, 2025

हराउँदै हातखुट्टामा ‘टीका छेडैना’ चलन

११ माघ २०८१, शुक्रबार
हराउँदै हातखुट्टामा ‘टीका छेडैना’ चलन

धनगढी, ११ माघ । कुनै बेला आदिवासी जनजाति थारु समुदायको विवाहित महिलाका लागि अनिवार्य जस्तै रहेको शरीरमा टीका छेडैना (ट्याटू खोप्ने) चलन हराउन थालेको छ ।
टीका छेडाएका व्यक्तिलाई अरुले गिज्याउन थालेपछि अब यो चलन हराउन थालेको हो । अचेल नयाँ पुस्ताले टीका छेडाउँदैनन् । विगतमा थारु समुदायका महिलाले विवाह गरिसकेपछि हातखुट्टामा वन्यजन्तु र घरायसी सामग्रीको टीका छेडाउन गर्दथे । जसमा घोरुवा, हसिया, बट्ला, चुल्ही, सिट्ठा, मचिया, रैनी मछरिया, मजोंर लगायत हुन्थ्यो ।
त्यसबेला सबैले टीका छेडाउने गरेका कारण आफूले पनि रहरले टीका छेडाएको धनगढी उपमहानगरपालिका–१८ कृष्णनगरका लौटी चौधरीले बताइन् । “सबै सखी (साथी) हरुले टीका छेडाएपछि हात खुट्टामा मैले पनि छेडाएँ”, आफ्नो टीका देखाउँदै उनले भनिन्,“अहिले त यस्तो चलन हराएको छ । कसैले पनि टीका छेडाउँदैन ।”
महिलाले टीका छेडाउन सहज थिएन । सुईले टीका छेडाउँदा ज्वरोसमेत आउने गरेको कैलारी गाउँपालिका–५ बैजपुरका पवित्रा चौधरी बताइन् । उनका अनुसार टीका छेडाउँदा एक हप्तासम्म हातखुट्टामा घाउ रहने गर्दथ्यो । कसैकसैको घाउ पाक्ने पनि गर्दथ्यो । “त्यति कष्ट हुँदापनि सबैले टीका छेडाउने गर्दथे”, उनले भनिन् ।
महिलाहरुका अनुसार विगतमा डुल्दै गाउँ गाउँ आउने टीक छेड्नीहरु वा गाउँकै महिलाले टीका छेड्ने काम गर्दथे । त्यो काम गरेवाफत कसैले पाँच रुपियाँ त कसैले चामल र अण्डा लिने गर्दथे । टीका छेडैना धेरैका लागि रहर नै थियो । तर, दाङका महिलाका लागि भने यो बाध्यता जस्तै थियो । विवाह गरेपछि टीका छेडाउनै पर्ने पहिले दङ्गाली चलन रहेको दाङबाट विवाह गरेर बैजपुर आउनु भएकी ६८ वर्षीया कमली डङ्गौरा बताइन् ।
“टीका नछेडाए ससुराले सतगोरी भन्ने गर्थे र बुहारीले दिएको पानी खाँदैनथे”, उनले भनिन्,“केटी छँदा टीका नछेडाए पनि विवाहपछि हात र खुट्टाभरि टीका हुनै पर्दथ्यो ।” पहिले बाध्यताले टीका छेडाएको आफूलाई अहिले मान्छेले गिज्याउँदा पछुतो लाग्ने गरेको उनको भनाइ छ ।
दाङबाटै विवाह गरेर बैजपुर आउनु भएकी ६४ वर्षीया लालमोती चौधरी पनि हातखुट्टामा टीका नभएपछि ससुराले पानी नखाने गरेका कारण विवाह लगत्तै टीका छेडाउने चलन रहेको बताइन् । “भोज भएपछि अनिवार्य टीका छेडाउनु पर्दथ्यो”, उनले भनिन् ।
यस्तो थियो, जनविश्वास
महिलाले टीका छेडाएमा मरेपछि त्यही टीका बेचेर खान पाईन्छ भन्ने जनविश्वास तत्कालीन समयमा थारु समुदायमा रहेको बताइन्छ । पवित्रा भनिन्,“मरेपछि भगवानको घर पुग्दा केही हुँदैन । त्यति बेला टीका बेचेर खान सकिन्छ भन्ने जनविश्वास थियो ।”
यसरी छेडाइन्थ्यो टीका
टीका तीन, पाँच, सात वा ११ वटा सुई एकसाथ शरीरमा घोपेर छेडाउने गरिन्थ्यो । ज्येष्ठ महिलाहरुका अनुसार दियो बालेर त्यसको धुवाँले प्लेट वा कचौराको पछाडि भागमा कालो कर्खा लगाइन्थ्यो । त्यहि कर्खाले हात, खुट्टामा चित्र बनाएर त्यसपछि चित्रमा सुई घोप्ने गरिन्थ्यो । “सुईले घोपिसकेपछि डुबो घाँस पिसी तेलमा फिटेर टीका छेडेको ठाउँमा लगाइन्थ्यो”, कमली भनिन्, “यस्तो गर्दा एक हप्तापछि हात खुट्टामा हरियो हरियो टीका बन्थ्यो, जीवनभरिलाई ।”
छेडाएको टीका फुलाउनका लागि एक हप्तापछि माछा मार्ने गरिन्थ्यो । टीका छेडेको व्यक्ति दिनभरि पानीमा रहँदा टीका राम्रो हुने गरेको महिलाहरु बताउँछन् ।
टीका छेडैना आदिवासी जनजाति थारु समुदायको लागि एउटा पहिचान नै रहेको लेखक एवम् आदिवासी अधिकारबारे वकालत गर्दै आउनु भएकी अभियन्ता इन्दु थारु बताइन् । “टीका छेडैना हातखुट्टामा बुट्टा भर्नेमात्रै होइन । यो आदिवासी जनजाति थारुको पहिचान पनि हो”, उनले भनिन्,“तर, अरु समुदायका व्यक्तिले टीका छेडाएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा नयाँ पुस्ताले टीका नछेडाउने र पुरानाले आफ्नो शरीरको टीका लुकाउने अवस्था सृजना भएको छ ।”
गोरखापत्रबाट