१५ बैशाख २०८३, मंगलवार April 28, 2026

दुर्घटना न्यूनीकरणका लागि डल्लपमा ‘रिफ्लेक्ट स्टिकर’

२५ पुष २०८१, बिहीबार
दुर्घटना न्यूनीकरणका लागि डल्लपमा ‘रिफ्लेक्ट स्टिकर’

धनगढी, २५ पुस । रातिमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले डल्लपको अगाडी पछाडिको भागमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।
कैलालीमा ट्राफिक प्रहरीले डल्लप (गोरुगाडा) मा टल्किने रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । विशेष गरेर जिल्लाको ग्रामीण क्षेत्रमा यो अभियान थालिएको छ ।
जाडो याममा कुहिरो लागेर डल्लप नदेखिने र तीव्र गतिका सवारी साधन त्यसमा ठोक्किने गर्दछ । भिजिबिलिटी कमका कारण राति हुने त्यस्तो दुर्घटना न्यूनीकरणका लागि डल्लपहरुमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको अस्थायी ट्राफिक प्रहरी पोष्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदीश बोहराले बताए । उनले हरेक घर घरमा रहेका डल्लपहरुमा रिफ्लेक्ट स्टिकर टाँस्ने उल्लेख गरे ।
केही दिन अगाडिमात्रै राति धनगढीबाट हसुलियातर्फ जाने क्रममा हुलाकी सडकमा एउटै दिशामा गइरहेको मोटरसाइकल डल्लपमा ठोक्किदा कैलारी गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गतका एक कर्मचारीको ज्यान गएको थियो । ग्रामीण क्षेत्रमा डल्लपमा तीव्र गतिका सवारी साधन ठोक्किएर कैयौं दुर्घटना भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । डल्लपको अगाडि पछाडिको भागमा रिफ्लेक्ट स्टिकर टाँसिएमा सवारी साधनका बत्तीको प्रकाश पर्ने बित्तिक्कै स्टिकर टल्किने र त्यहाँ डल्लप रहेको थाहा हुने प्रहरी सहायक हवल्दार बोहराले बताए ।