२४ कार्तिक २०८१, शनिबार November 9, 2024

उपन्यासकार सर्वहारीलाई धुस्वां पुरस्कार

२१ पुष २०८०, शनिबार
उपन्यासकार सर्वहारीलाई धुस्वां पुरस्कार

काठमाडौँ, २१ पुस । प्रशिद्ध उपन्यासकार धुस्वां साय्मिको नाममा स्थापित दुई पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई प्रदान गरिने भएको छ ।


उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां बसुन्धरा पुरस्कार’ सर्वहारीलाई र ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ वैद्यलाई दिने निर्णय गरिएको हो । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण साय्मिको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गंकी धुस्वां बसुन्धरा पुरस्कार नेपाली, नेपालीभाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । त्यस्तै धुस्वां साय्मि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौं गीतहरू रहेका छन् ।
उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने संगीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा साय्मि र प्रकाश जिसी सहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो ।
पुरस्कार आउँदो माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच प्रदान गरिनेछ । दुवै पुरस्कार ५० हजार रुपैयाँ राशिको हो ।