७ फाल्गुन २०८१, बुधबार February 19, 2025

‘जनताको सेवक भएर काम गर्छु’

२९ पुष २०७९, शुक्रबार
‘जनताको सेवक भएर काम गर्छु’

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले त्याग, सेवाको भावनालाई लिएर प्रदेशवासीको माझमा रहने उल्लेख गरे ।
यो भूमि वीर विराङ्गाना, साहित्यिक रत्नहरु र काव्यात्मक गणितको भूमि रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सबैलाई स्मरणसमेत गरे । उनले सुदूरपश्चिम प्रदेश सरकार मातहतका सबै मन्त्रालय, आयोग, सचिवालय, निकाय र मातहतका कार्यालयहरुको कार्य सम्पादन प्रणालीलाई सरलीकरण र सुदृढिकरण गर्ने सम्बन्धमा नतिजामूलक कार्य योजना तयार गरेर सात दिनभित्र प्रतिवेदन पेश गर्नु पर्ने निर्णय गरेका छन् ।

त्यसका लागि प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा सबै मन्त्रालयहरुको प्रदेश सचिव तथा सदस्य रहने गरी सुदूरपश्चिम प्रदेशको समग्र शासकीय स्वरुप सुधार गर्ने योजना तर्जुमा कार्यदल गठन गर्न निर्देशन दिए ।

यसैगरी, यसैगरी, नवगठित प्रदेश सरकारको मन्त्रिपरिषद्ले स्थानीय तहको सेवा गठन, सञ्चालन, सेवा शर्त निर्धारण गर्ने कानुन तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने पहिलो निर्णय गरेको छ । यस्तै, प्रदेश सुशासन प्रवद्र्धन गर्न प्रादेशिक सदाचार नीति र मापदण्ड तर्जुमा गर्ने र त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश सचिव (कानून) को संयोजकत्वमा एक कार्यदल गठन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।