२२ भाद्र २०८१, शनिबार September 7, 2024

कैलारीको नवौं अधिवेशन सुरु, छ वटा विधेयक पेस

११ माघ २०७८, मंगलवार
कैलारीको नवौं अधिवेशन सुरु, छ वटा विधेयक पेस

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको नवौं अर्थात हिउँदे/विधेयक अधिवेशन मङ्गलबारदेखि सुरु भएको छ ।
कोरोना महामारीलाई मध्यनजर गरी सो गाउँपालिकाले स्वास्थ्यको मापदण्ड पालना गर्दै नवौं अधिवेशन सुरु गरेको हो । कोरोना सङ्क्रमण बढि रहेका कारण गाउँपालिकाको गाउँ सभा हलमा सभा सञ्चालन नगरी, गाउँपालिकाको अर्को ठूलो हलमा सभाको उद्घाटन गरिएको छ ।


गाउँ सभा एवम् गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले विधेयक अधिवेशनको उद्घाटन गरे । सभामा विधेयक समितिका संयोजक राजेश सुनारले छ वटा विधेयक पेश गरेका छन् । उनले कैलारी गाउँपालिकाको भलमन्सा/बडघर प्रणाली संरक्षण, सम्बद्र्धन र विकास ऐन २०७८, कैलारी गाउँपालिकाको स्थानीय सेवा ऐन २०७८, कैलारी गाउँपालिकाको युवा नीति २०७८ सभामा पेश गरेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । यसैगरी, कैलारी गाउँपालिकाको अनुगमन तथा सुपरीवेक्षण समिति कार्यविधि २०७८, कैलारी गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति कार्यविधि २०७८ लाई समितिले गाउँ सभामा पेस गरेको छ । यस्तै, कैलारी गाउँपालिकाको स्थानीय राजस्व समिति सञ्चालन कार्यविधि २०७८ पनि सभामा पेस गरिएको छ ।
गाउँ सभामा पेस भएको विधेयकमाथि आगामी माघ २४ गतेको गाउँ सभामा छलफल हुने प्रवक्ता चौधरीले जानकारी दिए ।
कैलारी गाउँपालिकाको गाउँ सभाबाट हालसम्म ५२ वटा ऐन, कानून निर्माण भएको छ । स्थानीय सरकारको कामकारबाहीलाई अगाडि बढाउनदेखि लिएर अति आवश्यक ऐन, कानून बनाइएको हो । हालसम्म ऐन १२ वटा, कार्यविधि २६ वटा, निर्देशिका छ वटा बनेको गाउँपालिका प्रवक्ता चौधरीले जानकारी दिए । यसैगरी, नियमावली र नीति तीन/तीन वटा, मापदण्ड र दिग्दर्शन एक÷एक वटा निर्माण भएको उनले बताए ।
गाउँ सभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, गाउँ सभा सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, गाउँपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो ।