२० मंसिर २०८१, बिहीबार December 5, 2024

सुदुरपश्चिम प्रदेश सरकारद्वारा माघ २ गते सार्वजनिक विदा

२९ पुष २०७८, बिहीबार
सुदुरपश्चिम प्रदेश सरकारद्वारा माघ २ गते सार्वजनिक विदा

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पर्वको अवसरमा माघ २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष माघ १ गते शनिबारको दिन माघ तथा माघे संक्रान्ति परेकाले माघ २ गते आइतबार थप एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ बैशाख १९ गतेको निर्णय अनुसार प्रदेश भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।


यता कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले माघ पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यसै गरी नयाँ वर्ष पनि । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिदैं आएको थियो ।
माघी पर्वबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ । यो समुदायका मानिसले पुस अन्तिम् दिनदेखि माघ २ गतेसम्म धुमधामका साथ माघी पर्व मनाउने गरेका छन् । पर्व नजिकिएसंगै थारु बस्तीमा चहलपहल सुरु भइसकेको छ । माघमा धमार गाउने र मघौटा नाच नाचेर मनोरञ्जन गर्ने चलन रहेको छ ।
माघ पर्वको अवसरमा सो जिल्लाको विभिन्न ठाउँमा माघी मेलासमेत लाग्ने गरेको छ । यद्यपि, यस वर्ष कोरोना महामारीको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले मेला, महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

माघमा तीन दिन बिदा माग
शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।
उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् । ’बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ’, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भने ’नगर प्रमुखले यसबारे सकारात्मक जवाफ दिएका छन् ।’
नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताए । नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ ।