२० मंसिर २०८१, बिहीबार December 5, 2024

नेतुवा तालमा वाटरपार्क निर्माण कार्य सुरु

२८ पुष २०७८, बुधबार
नेतुवा तालमा वाटरपार्क निर्माण कार्य सुरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको नेतुवा तालमा वाटर पार्क निर्माणको काम सुरु भएको छ । पर्यटन उपज विकास कार्यक्रम अन्तर्गत नेतुवा तालको अतिरिक्त पानी अण्डर ग्राउण्ड पाइप मार्फत निकासको लागि काम सुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशिला मिश्रले निर्माण थालनीको काम शुभारम्भ गरेका छन् । कामको सुभारम्भ गदै नगर प्रमुख नृपबहादुर वडले ५०/५० पार्टनर सिप साझेदारीमा नेतुवा तालको कार्यक्रम सुरु भएको बताए । ‘यो कार्यक्रमबाट पहिलो नेतुवा ताल वाटर पार्कको रुपमा विकास हुन्छ, दोश्रो बढी भएको पानी सिचाईमा प्रयोग हुन्छ र तेश्रो डुबानको समस्या धेरै हदसम्म समाधान हुन्छ’ नगर प्रमुख वडले भने, ‘यो परियोजना बि.स.२०८१ सम्म सक्नुपर्नेछ । तर, मैले निर्माण कम्पनीसंग जतिसक्दो चाडो सक्न अनुरोध गरेको छु ।’
‘उपमहानगरपालिकाको वडा नम्बर २,३,१३ र १४ डुबानको अति जोखिममा पर्छ । डुबान कम गर्न हामी बिभिन्न उपाय अबलम्बन गदै अगाडि बढिरहेका छौ’ नगर प्रमुख वडले भने, ‘यो कार्यक्रमले धेरै हदसम्म डुबान कम गर्न सहयोग गर्छ ।’
धनगढी उपमहानगरपालिका शहरी विकास तथा प्राविधिक प्रमुख डिभिजन ईन्जियिर दीजराज भट्टले कुल लागत ७ करोड १० लाख भएपनि बिट गर्दा ४ करोड १० लाखमा पहिलो चरणको काम सुरु भएको बताए ।
‘आउटलेटबाट पानी निकासका लागि काम सुरु भएको छ । यो पहिलो चरणको काम हो’ डिभिजन ईन्जिनियर दीजराज भट्टले भने, ‘पहिलो चरणमा पानी निकासको कामलाई प्राथमिकता दिएका छौ । दोश्रो चरणमा ताल भित्रका संरचना, ताल सौन्दयीकरण, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने काम हुनेछ ।’