हसुलिया । कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यसै गरी नयाँ वर्ष पनि । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिदैं आएको थियो ।
माघी पर्वबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ । यो समुदायका मानिसले पुस अन्तिम् दिनदेखि माघ २ गतेसम्म धुमधामका साथ माघी पर्व मनाउने गरेका छन् । पर्व नजिकिएसंगै थारु बस्तीमा चहलपहल सुरु भइसकेको छ । माघमा धमार गाउने र मघौटा नाच नाचेर मनोरञ्जन गर्ने चलन रहेको छ ।
माघ पर्वको अवसरमा सो गाउँपालिकाको वनदेवी, अपरम्पार बाबा लगायतका ठाउँमा माघी मेलासमेत लाग्ने गरेको छ । यद्यपि, यस वर्ष कोरोना महामारीको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले मेला, महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।