२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

कैलारीलाई पुस २४ गते जातीय छुवाछुतमुक्त घोषणा गरिँदै

२२ पुष २०७८, बिहीबार
कैलारीलाई पुस २४ गते जातीय छुवाछुतमुक्त घोषणा गरिँदै

कैलाली । कैलालीको कैलारी गाउँपालिका जातीय छुवाछुत तथा भेदभाव मुक्त गाउँपालिका घोषणा गरिने भएको छ ।
जातिय तथा वर्ग विशेषमा हुने भेदभावमा सुधार आउँदै गरेपछि यहि पुस २४ गते (शनिबार) एक समारोहको आयोजना गरि गाउँपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त घोषणा गर्न लागिएको हो ।
गाउँपालिकामा ९० प्रतिशत व्यक्तिहरुमा जातीय छुवाछुत तथा विभेद रहित पाइएपछि सो घोषणा गरिन लागेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । गाउँपालिकाले सो घोषणा गर्न सूचक तयार गरेको उनले बताए । ‘कार्यपालिकाको निर्णयबाट जारी गरिएको सूचकका आधारमा गाउँपालिकाले सर्वेक्षण गर्दा ९० प्रतिशत व्यक्तिहरुमा विभेदरहित रहेको पाइएको थियो’ उनले भने –‘सोही सूचकलाई आधार बनाएर हामीले गाउँपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त घोषणा गर्ने तयारी गरेका हौं ।’
कुल जनसंख्याको ९७ प्रतिशत थारु बाहुल्य क्षेत्र रहेको सो गाउँपालिकामा दलित लगायत अन्य समुदायको पनि बसोबास रहेको छ । गाउँपालिकाभित्र वर्ग र जाति विशेषले विभिन्न प्रकारका विभेद सहनु परिरहेको छ । गाउँपालिकाभित्र गरिएको एक सर्वेक्षणले अझै पनि १० प्रतिशत व्यक्तिहरुले विभिन्न खाले छुवाछुत तथा विभेदहरु सहनु परिरहेको छ ।
सामुदायिक, आर्थिक, धार्मिक, स्रोत सम्पदा, सरकारी सेवाप्रदायक संस्था, सामाजिक संघ संस्था र समुह, संस्कृति र सम्बन्ध तथा निजी स्थानहरुमा आम मानिसले जातिय छुवाछुत तथा भेदभावहरु भोग्ने गरेका छन् ।
गाउँपालिमा गरिएको एक सर्वेक्षणले अझै पनि दश प्रतिशत व्यक्तिहरुले विभिन्न खाले विभेद तथा भेदभाव सहनुपरिरहेको छ । ‘अझै पनि गाउँपालिकामा विभिन्न वर्ग तथा जातिहरुले छुवाछुत तथा भेदभाव सहनुपरिरहेको छ’ दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले भनिन –‘गाउँपालिकामा सबैभन्दा धार्मिक क्षेत्रमा विभेद रहेको छ । त्यसपछि संस्कृति र सम्बन्ध, निजी संस्था, सामाजिक संघ संस्था र समुहहरुमा विभेद भएको पाईएको छ ।’ उनका अनुसार धार्मिक क्षेत्रमा अझै पनि ३९ प्रतिशत विभेद, संस्कृतिर सम्बन्धमा २९, निजी संस्थाहरुमा २० प्रतिशत रहेको छ भने सामाजिक संघ संस्था र समुहहरुमा १६ प्रतिशत विभेद कायमै रहेको छ ।
गाउँपालिकामा आर्थिक पुर्वाधारमा दुई, सामुदायिक पूर्वाधारमा तीन र सरकारी सेवाप्रदायक संस्थामा छ प्रतिशत विभेद रहेको छ भने स्रोत सम्पदामा ११ प्रतिशत विभेद रहेको छ ।
सो गाउँपालिकामा भेदभाव गर्ने माथिल्लो समुदायभित्रका प्राय पुराना सोच भएको ज्येष्ठ नागरिक र माथिल्लो समुदायका महिला र पुजारी रहेका छन भने भेदभाव सहने दलित समुदाय रहेका छन ।
‘म जनप्रतिनिधी भएदेखिनै गाउँपालिकालाई विभेदरहित गाउँपालिका बनाउने घोषणा गरेको थिए । सोही अनुसार कामहरु पनि अघि बढीरहेका थिए’ अध्यक्ष चौधरीले भने –‘कोभिड महामारिका कारण गत वर्ष घोषणा गर्न सकिएन । यस वर्ष हामीले घोषणा गर्ने छौं ।’ उनले विभेदकै कारण आर्थिक, सांस्कृति, पूर्वाधार लगायतबाट केही वर्ग तथा जातिहरु विभेदमा पर्ने गरेको बताए ।
‘विभेदकै कारण गरिव वर्गहरु अझ मारमा परिरहेका छन । उनीहरुको आर्थिक स्थितिमा अझै सुधार हुन सकेको छैन । गाउँपालिका विभेद रहित घोषणा भए सबै वर्ग सम्मानजनक र आत्मनिर्भर हुने छन’ उनले भने ‘विभेदकाकारण समाजमा द्वन्द्व, गरिवी, मनोसामाजिक प्रभाव, विकासमा अवरोध, मानवअधिकार तथा कानुनी अधिकारको हनन, सामाजिक अपहेलना तथा सदभावमा असर, शिक्षा तथा चेतनामा कमी, सामाजिक विभेदीकरण यहाँका नगारिकहरुमा परिरहेको छ ।’
गाउँपालिका अध्यक्ष लाजुरामुले गाउँपालिकालाई विभेदरहित घोषणा गरेपनि बसाईसराई बाँधक बन्न लागेको बताए । ‘घोषणा भएलगत्तै अब गाउँपालिकामा बसाईसराई गर्नेलाई कागजपत्र गराएरमात्र अनुमति दिइने छ’ उनले भने –‘बसाई सराई गरेर आउने मानिसलाई विभेद गर्दैन भन्ने कागजपत्र बनाएरमात्र राखिने छ । त्यसका लागि गाउँपालिकाले आवश्यक मापदण्ड पनि बनाइसकेको छ ।’