८ बैशाख २०८१, शनिबार April 20, 2024

ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई ब्ल्याङ्केट

२१ पुष २०७८, बुधबार
ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई ब्ल्याङ्केट

हसुलिया । चिसोले जनजीवन प्रभावित भइरहेको बेला कैलालीको कैलारी गाउँपालिका–३ को वडा कार्यालयले ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई एक÷एक वटा ब्ल्याङ्केट वितरण गरेको छ ।
जाडोबाट जोगिन सहयोग पुग्ने भन्दै वडा कार्यालयले लक्षित वर्गलाई सम्मान कार्यक्रमको आयोजना गरेर ब्ल्याङ्केट वितरण गरेको हो । ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति, एकल महिलालाई ब्ल्याङ्केट दिइएको वडा अध्यक्ष कैलाशप्रसाद चौधरीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, विशिष्ट अतिथि रहेका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, वडा सदस्यले ब्ल्याङ्केट हस्तान्तरण गरेका थिए । ब्ल्याङ्केट पाएपछि ज्येष्ठ नागरिक लगायत विपन्न व्यक्ति खुशी भएका छन् ।


चालू आर्थिक वर्षमा लक्षित वर्गलाई सम्मान कार्यक्रमका लागि वडा कार्यालयले दुई लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही पैसाले ब्ल्याङ्केट खरिद गरी ४५० जनालाई वितरण गरिरहेको वडा अध्यक्ष चौधरीले बताए । ‘आज ब्ल्याङ्केट लिन उपस्थित हुन नसकेकालाई बिहीबार वितरण गर्छौ’, उनले भने ।
यसैगरी, वडामा रहेका स्वास्थ्य स्वयम् सेविकालाई पनि उनीहरुको ड्रेसमा मिल्ने गरी बाक्लो लुगा दिने तयारी गरेको वडा अध्यक्ष चौधरीले बताए । ‘त्यसको लागि ३० हजार रुपैयाँ बजेटको व्यवस्था गरेका छौं’, उनले भने । वडा नम्बर ३ मा १२ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत छन् ।