७ फाल्गुन २०८१, बुधबार February 19, 2025

रेशम चौधरीद्वारा‘नागरिक उन्मुक्ति पार्टी’गठन

१९ पुष २०७८, सोमबार
रेशम चौधरीद्वारा‘नागरिक उन्मुक्ति पार्टी’गठन

काठमाण्डौं । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन्। चौधरीले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन्।
आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन्। नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो। डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर उनी जान पाएनन्।
चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन्। फरार रहेका चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभा सदस्य जितेका थिए।

पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए। राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए। तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन्।
‘ठूला राजनीतिक दल, आफू आवद्ध मधेसवादी दलबाट केही पनि निकास निस्केन। मधेसवादी दलले पनि कुनै पहल गरेको देखिएन। अब अरूको हातबाट हुन्न, अखण्ड सुदरपश्चिमको राजनीतिक मुद्दा बन्यो तर थारूको बनेन,’ श्रेष्ठले भनिन्, ‘त्यसैले नयाँ दल स्थापना गरेर थारूहरूको पहिचान बनाउने, अरूको झोला नबोक्ने निष्कर्षसाथ पार्टी गठन गर्न लागिएको हो।’