७ बैशाख २०८१, शुक्रबार April 19, 2024

कैलारीलाई जातीय छुवाछुतमुक्त घोषणा गर्ने तयारी

१८ पुष २०७८, आईतवार
कैलारीलाई जातीय छुवाछुतमुक्त घोषणा गर्ने तयारी

हसुलिया । कैलालीको कैलारी गाउँपालिकालाई जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणाको तयारी गरिएको छ ।
सो गाउँपालिकामा तुलनात्मक रुपमा जातीय विभेद न्यून रहेकाले जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गर्ने तयारी हो । पुस २४ गते एक कार्यक्रम गरेर गाउँपालिकालाई जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गर्ने जनाइएको छ ।
यसैबीच, जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणाका लागि आइतबार गाउँपालिकास्तरीय अन्तरक्रिया गरिएको छ । कैलारी गाउँपालिका, दलित महिला अधिकार मञ्चको संयुक्त आयोजना र डीसीएको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता बालाराम भट्टराईले कैलारी गाउँपालिकामा जातीय विभेदको सवालमा गरिएको अध्ययनबाट प्राप्त नतिजा प्रस्तुत गरेको थिए । सो क्रममा उनले ९७ प्रतिशत थारु समुदायको बसोबास रहेको कैलारीमा जातीय विभेद कम रहेको बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष सत्गौंवाले जातीय छुवाछुत र विभेदरहित समाज बनाउन चिन्तन, सोंच परिवर्तन गर्न आवश्यक रहेको बताइन् । उनले विभेद अन्त्यका लागि जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै थपिन्–‘दलित समुदायलाई आत्मनिर्भर बनाउनु पर्दछ । उनीहरुको मागको आधारमा कार्यक्रम लैजाने विषयमा गाउँपालिका लागि परेको छ ।’
उनले जातीय छुवाछुत तथा विभेदमुक्त समाज निर्माणका लागि जनप्रतिनिधि र कर्मचारी लागेरमात्रै नहुने उल्लेख गर्दै सबै एकजुट भएर लाग्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, दलित महिला अधिकार मञ्चका निर्देशक सावित्रा घिमिरे, दीपक सुनार लगायतकाले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु कैलाशपसाद चौधरी, कमलप्रसाद चौधरी, भिखराम चौधरी, बालकृष्ण चौधरी, सन्तु चौधरी, प्रेम चौधरी, विष्णुप्रसाद चौधरी, गाउँपालिकाका गाउँसभा सदस्य, दलित समुदायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।