कैलाली । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले यहि पुस १४ देखि १७ गते सम्म महोत्सव सञ्चालन गर्ने भएको छ ।
‘संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७९’ सञ्चालन गर्ने भएको हो ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव बारे जानकारी दिए । उनले महोत्सको तयारी भइरहेको बताउँदै महोत्सव आयोजनाका लागि विभिन्न समितिहरु समेत गठन भईसकेको जानकारी दिए ।
थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा युवा पुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आईरहेको संयोजक चौधरीले बताए ।
लोप हुँदै गएको थारू समुदायको सीप, कला संस्कृति, भाषा खानपिन, सम्पदा र प्राकृतिक स्रोतको सदुपयोग गरेर आर्थिक तथा सामाजिक स्तरमा अभिबृद्धि गर्दै थारू जातिको पहिचानलाई पर्यटन व्यवसाय मार्फत राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा पुगाउने उद्देश्य सहित थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्दै आएको छ ।
होमस्टे तथा महोत्सव सञ्चालनले स्थानीय स्तरमा स्वरोजगारको अवसर सिर्जना भएको, थारू सामुदायिक होमस्टे गाउँ भादाको प्रचारप्रसार, हरेक जातजाति तथा देशविदेशको नागरिकहरूबीच सामाजिक सद्भाव कायम रहेको जनाइएको छ । होमस्टे सञ्चालन भएपछि बोली भाषा, सरसफाईमा चेतनाको बृद्धि हुनुका साथै स्थानीयस्तरमा आर्थिक स्रोतमा बृद्धि भएको अध्यक्ष चौधरीले बताए ।
२०६७ सालमा होमस्टे सञ्चालन भएपछि यसको प्रचारप्रसारका लागि २०६८ सालदेखि महोत्सवको आयोजना हुँदै आएको छ ।
महोत्सवमा थारू समुदायले हातले बनाएका ढकिया, डेलुवा, लेहंगा, पनछोपनी, मचिया, हेल्का, डेलिया, सिकहर, हसिया, बेल्ना चौकी लगायत घरायसी प्रायोजनमा प्रयोग हुने वस्तु अवलोकन गर्न मिल्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।
होमस्टे महोत्सवमा खानाको परिकारमा ढिक्री, घोंघी, बरिया, फुलौरी, खर्या, बंगुर तथा मुसक पकुवा, गेंगट्क पकौरी, सिद्रा, चरंगिक पक्ली, आलुक अचार, पनझझरा, कचरिक बरिया, अण्डी भात, महुँवक दारु, चौरक दारु, जाँर, जाँरके झोल लगायतको थारू खानपिनको परिकार दर्शकहरूले खाना पाउने जनाइएको छ ।
महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, स्थानीय थारू नाचगानमा सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुंग्रहुवा, हुर्डङवा, छोक्रा, बर्का नाँच, अखरिया नाँच, कठघोरी नाँच, रानाथारू, कठरिया थारूहरूको नाँचगानको प्रस्तुति रहने जनाइएको छ ।