९ जेष्ठ २०८१, बुधबार May 22, 2024

‘गठबन्धनसंग हाम्रो प्रतिस्पर्धा हुँदैन’

१ मंसिर २०७९, बिहीबार
‘गठबन्धनसंग हाम्रो प्रतिस्पर्धा हुँदैन’

भजनी नगरपालिका–२ मोहनपुरका गंगा चौधरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन । २०७४ को आम निर्वाचनमा रेशम चौधरीलाई जिताउनका लागि उनले अहोरात्र खटेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसैगरी, २०७२ को थरुहट आन्दोलनमा पनि सक्रिय रुपमा लागेका थिए । उनी पहिलो पटक निर्वाचन लड्दैछन् । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । प्रस्तुत छ, प्रतिनिधि सभा सदस्यका उम्मेदवार गंगा चौधरीसंग गरिएको कुराकानीको सारसंक्षेप ।
पहिलो पटक निर्वाचन लड्दै हुनुहुन्छ । तपाईको उम्मेदवारी किन र के का लागि ?
नागरिक उन्मुक्ति पार्टी रहरले खोलिएको हैन । शोषण, दमन, अन्यायमा परेका जनताको उन्मुक्तिको लागि खोलिएको पार्टी हो । हाम्रो पार्टीको मुख्य एजेण्डा चाहिँ २०७२ सालमा घटेको टीकापुर घटनामा हाम्रो निर्दोष साथीहरु जेलमा हुनुहुन्छ, उहाँहरुको रिहाइ गर्नु हो । टीकापुर घटनाको बारेमा लाल आयोगको प्रतिवेदन, देवीराम शर्माको प्रतिवेदन, त्यसैगरी मानव अधिकारवादी संस्थाका प्रतिवेदनहरु, संसदीय दलका लगायत थुप्रै प्रतिवदन छन्, ति प्रतिवेदनहरुमा माननीय रेशम चौधरी लगायत सबै निर्दोष छन् । आज आठ वर्ष पुग्न लाग्यो तर सरकारले यो प्रतिवेदनहरु सार्वजनिक गर्न सकेको छैन । हामी जित्यौँ भने प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने हाम्रो मुख्य आवाज हुनेछ ।


त्यो संगै भूगोलको रुपमा हेर्ने हो भने क्षेत्र नम्बर ३ तीन पालिका मिलेर बनेको छ । भजनी, कैलारी र घोडाघोडी । यसमा विशेष समस्या भनेको बाढी, डुबान समस्या हो । बाढी पीडितको समस्या छ । यहाँका जनताहरु बर्सेनि बाढी, डुबानबाट समस्याग्रस्त छन् । त्यसैले बाढी पीडितको समस्या समाधानको लागि हामी आवाज उठाउनेछौं, पहल गर्नेछौं । र, त्यहाँ विकल्पमा कुन खेती गर्दा खेरी राम्रो हुने हो, त्यो बाढी, डुबान ग्रस्त क्षेत्रमा हामी वैकल्पिक खेतीका लागि विशेष प्याकेज योजना ल्याएर काम गर्नेछौं । र, अर्को किसानको समस्या धेरै छ, त्यहाँ । किसानको समस्या भन्नुपर्दाखेरि अहिले समयमा मलखाद नपाइने, त्यस्तै बीउको समस्या रहेको छ । जस्तै, अहिले हामी किसानले गहुँ छर्ने बेला बीउ किन्यौं भने, प्रति किलो कम्तीमा ७५ देखि २५० रुपैया पर्छ । तर, किसानले बिक्री गर्नुपर्दा खेरि ३० रुपैयाँभन्दा बढीमा बिक्री हुँदैन । अनि, कसरी किसानको उन्नति हुन्छ ? हामी किसानको समस्याकोबारेमा सदनमा विशेष आवाज उठाउने छौं । र, आफूले उत्पादन गरेको बीउको किसानले आफै मूल्य तोक्न पाउनुपर्छ । जस्तै, हामी देख्छौं, साबुन बनाउने फ्याक्ट्रीले साबुनको मूल्य आफै तोक्छ । त्यसमा मार्जिन निकालेर मूल्य तोकिएको हुन्छ । त्यस्तै, सर्फको कम्पनीले सर्फको मूल्य तोकेको हुन्छ । त्यसैले किसानले उत्पादन गरेको चिजको मूल्य किसान आफैले तोक्न पाउनु पर्छ भन्ने किसानको पीडालाई सदनमा उठाउँनेछु ।

त्यसैगरी, युवा स्वरोजगारको कुरा गर्दाखेरी हाम्रा युवा साथीहरु डिग्री, ब्याचलर, इन्टर पास हुनुहुन्छ । तैपनि विदेश गएर काम गरिराख्नु पर्ने बाध्यता छ । उहाँहरुले यहिँ फलफूल खेती गरेर रोजगार बन्न सक्नुहुन्छ । उहाँहरु सिमला गएर स्याउ टिपी रहनु भएको छ । उहाँहरुलाई यहीँ अनुदानमा व्यावसायिक तरकारी खेती, पशुपालन, माछा पालनमा संलग्न गराउन सकिन्छ ।अर्को शिक्षाको हकमा हेर्दाखेरि, हामी यहाँ पाइलट र इन्जिनीयरलाईमात्रै हाम्रो जनशक्ति ठान्छौं । शिक्षक, कृषक र व्यापारीहरु पनि हाम्रो देशका जनशक्तिहरु हुन । सबै ठाउँमा सामान शिक्षा हुनुपर्छ भन्ने मलाई लाग्छ । र, विशेष गरी अब यो धनी गरिबको शिक्षा नहोस । सबैलाई सामान शिक्षा होस भन्ने हाम्रो एजेण्डा रहेको छ ।
महिलाको हकमा भन्नुपर्दा खेरि ८७ प्रतिशत महिला अझै घर गृहणीको काम गरिरहेका छन् । त्यसका लागि पनि आवाज उठाउनु पर्ने । अब महिलाहरु पनि राजनीतिमा आउनु पर्दछ । व्यापार व्यवसायमा आउनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । यहाँ पर्यटनको क्षेत्रमा हेर्नु पर्दाखेरि हाम्रा थुप्रै प्राकृतिक सम्पदाहरु रहेका छन् । जस्तै, भजनीकै हकमा हेर्नु पर्दा त्यहाँ प्राकृतिक तालहरु छन् । जस्तै, पुरैना ताल, त्यो संरक्षण गर्ने हाम्रो मुख्य योजना रहेको छ । भजनीमै हेर्दाखेरि धेरै ताल छन्, लौकहुवा भौकहुवा ताल, घोडताल छ । यी तालहरुको संरक्षण गर्न सकियो भने पर्यटनको विकासका साथै हाम्रो आर्थिक स्तरोन्नति हुनेछ । घोडाघोडीको हकमा हेर्नु पर्दाखेरि घोडाघोडी ताल, त्यसैगरी चिडिया ताल, ओजुवा तालहरु छन् । कैलारीको हकमा कोइलही ताल लगायत थुप्रै तालहरु छन् । यी तालहरुको संरक्षण गर्न सक्यौं भने पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
विशेष गरी नेपालको मोहना, पथरैया, कान्द्रा नदीमा बाढी आएको बेला डल्फिन पाइन्छन् । यी डल्फिनसंग जोडेर पर्यटकीय विकास गर्न सक्यौं भने आर्थिक विकासका साथै युवालाई रोजगारी पनि मिल्नेछ । यो क्षेत्र बाढी पीडित क्षेत्र भएकाले हामीले यसलाई बाढी पीडित क्षेत्र घोषणा गर्न सक्यौं भने बाटोघाटो र नदी कटानको कुरालाई व्यवस्थित गर्न सकिन्छ ।
तपाई चुनाव लडिरहेको क्षेत्रमा सबैभन्दा बढी कृषिको काम हुन्छ । त्यहाँको कृषिलाई व्यवसायीकरण र उत्पादन वृद्धि गर्नमा तपाईको योजना के छ ?
हाम्रा किसानहरु आफै विज्ञ छैनन् अझै । उहाँहरुलाई चेतनाको अभाव छ । जस्तै कृषि तालिमको आवश्यकता मैले देखेको छु । विशेष गरी अब मलखादहरु कसरी प्रयोग गर्ने ? कुन समयमा मलखादहरु टपड्रेस गर्ने ? कुन समयमा सिँचाइ गर्ने ? जस्तै अब विभिन्न अवस्था हुन्छ । धानकै अवस्था भन्नुपर्दा गजाउने अवस्था हुन्छ, अनि बालाको आकृति आउने अवस्था हुन्छ । यो तरकारीमा पनि फूल लाग्ने, फल लाग्ने अवस्था हुन्छ । त्यसमा हाम्रा किसानहरु अनविज्ञ छन । यस अवस्थाको बारेमा तालिम उहाँहरुले प्राप्त गरिसकेपछि यसमा पनि अलिकति रासायनिक विषादीको प्रयोग बढी भएको हुनाले कृषि जमिनहरु बिग्रिदै गएको छ । र, यसमा किसानलाई हामीले तालिम दिन सक्यौं, जनचेतना जगाउन सक्यौं भने उत्पादन वृद्धि हुन्छ र अर्गानिक तरकारी खेती व्यावसायिक रुपमा गर्न सकियो भने किसानको आर्थिक स्थिति सुधार हुन्छ जस्तो मलाई लाग्छ ।
सिँचाइको सबभन्दा ठूलो समस्या छ, यसको लागि चाहिँ तपाईको योजना के छ ?
सिँचाइको लागि के छ भने हामीले यहाँ त्यो डीप ट्युवबेलमात्रै हेर्दछौं । गाउँघरमा किसानको भाषामाभन्दा खेरी त्यसलाई हामी बोरिङ सिँचाइ भन्छौं । त्यो बोरिङ सिँचाइलेमात्रै हुँदैन के । खासगरी यसमा समय अनुसार खेती गर्नु पर्दछ । हाम्रा धेरै पानीका स्रोतहरु खेर गइरहेको अवस्था छ । खाली हामी बोरिङकोमात्रै भर ग¥यौं भने सिजनमा सबै बोरिङ चलेपछि पानी कम आउने, सुख्खा हुने अवस्था पनि देखिरहेको छ । त्यसकारण नहर सिँचाइका लागि योजनाहरु ल्याउने, नहर सिँचाइ भयो भने पानी घट्ने बढ्ने समस्या रहँदैन र खेर गइरहेको पानीको सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लाग्छ । र, यस्ता योजनाको बारेमा विशेष फोकस गर्नेछौं ।
बाढी प्रभावित क्षेत्र घोषणाको कुरा गर्नुभयो, त्यो घोषणा गर्नका लागि तपाईको तर्फबाट के पहल हुनेछ ?
मेरो मान्यता त के हो भने मैलेमात्रै बोलेर हुँदैन । स्थानीय सरकारले बाढी पीडित क्षेत्र घोषणा गर्ने भनेर निर्णय गरिसकेको छ । म जिते भने केन्द्रमा संसद भवनमा बाढी पीडित क्षेत्र घोषणाको लागि आवाज मैले उठाउँछु । त्यस्तै, गरी प्रदेशको सदनमा पनि आवाज उठाउनु पर्दछ । बाढी पीडित क्षेत्र घोषणाका नीतिहरु छन् । यसमा बाटोघाटो निर्माणदेखि नदी नियन्त्रणका कुराहरु छन् । यी आवश्यक कुराहरु नीतिले पनि सम्बोधन गर्छ होला । र, नीति अनुसार काम हुँदा खेरी बाढी पीडितको समस्या समाधान हुन्छ जस्तो मलाई लाग्छ ।
तपाईको प्रतिस्पर्धा को संग हुन्छ ?
प्रतिस्पर्धाको हकमा भन्नुपर्दाखेरि गठबन्धनसंग हाम्रो प्रतिस्पर्धा हुँदैन जस्तो लाग्छ । जनता के भनिरहेका छन्, भने गठबन्धन भनेको खाली कुर्सीको लागिमात्रै हो । गठबन्धनसंग हाम्रो प्रतिस्पर्धा हुदैन । यो क्षेत्रमा हाम्रो प्रतिस्पर्धा एमालेसंगै हुन्छ जस्तो लाग्छ ।
भनेपछि गठबन्धनभन्दा तपाई अगाडि हुनुहुन्छ ?
हो, गठबन्धनभन्दा हामी निकै अगाडि छौं ।
तपाईका चुनाव जित्ने आधारहरु के के हुन ?
चुनाव माग, मुद्दा र संगठनले जित्ने हो । हामीसंग संगठन छ । प्रत्येक गाउँमा टोल–टोलमा हाम्रो संगठनहरु छन् । जस्तै, अहिले चुनाव प्रचारप्रसार समिति पनि प्रत्येक टोल–टोलमा गठन गरेका छौं । संगठनले चुनाव जित्ने हो । र, हाम्रो माग मुद्दा, जुन हामीले माग, मुद्दा राखेका छौं, त्यो माग मुद्दाले हामी चुनाव अवश्य जित्नेछौं । र, हामी एउटा संकल्प पनि गर्नेछौं । जस्तै, चुनाव जितिसकेपछि भ्रष्टाचार गर्ने छैनौं र भ्रष्टाचार गर्न पनि दिने छैनौं । र, कृषि जमिनको खण्डीकरण गर्ने छैनौं । कुनै योजनाबाट लाभ पनि लिने छैनौं । जस्तै, सार्वजनिक सम्पत्तिहरुको दोहन गर्ने छैनौं । र, राजनीतिक भेदभाव हाम्रो हुँदैन । त्यसकारण माग, मुद्दामा अडिग भएर हामी अगाडि बढिरहेका छौं । हाम्रो जित पनि सुनिश्चित छ ।