कृष्णराज सर्वहारी
विजया दशमी आम नेपालीको पर्व भए पनि विभिन्न जातजातिले यो पर्व पृथक ढंगले मनाउने गरेका छन् । यस आलेखमा खास गरी डंगौरा थारुहरुको डस्या अर्थात् दसैं मनाउने तरिका तथा डस्याको अवसरमा नाचिने नृत्यबारे चर्चा गरिएको छ ।
आम नेपालीले नवरात्रको पहिलो दिन घटस्थापनामा जमरा राख्छन् । तर थारुहरुमा घटस्थापनाको रात डुटिया (अद्र्धचन्द्रमा) हेरेर अर्को बिहान मात्रै मकै, जौको जमरा राख्ने कार्य हुन्छ । जमरालाई प्रत्येक विहान (घरमूली) गरढुरियाले नुहाई पानी हाल्नुपर्छ ।
सप्तमीको दिनलाई ‘झोल झरैना’ भनिन्छ । यो दिन घर सरसफाई, लिपपोत गरिन्छ । अष्टमीको दिन ‘ढिक्रह्वा’को रुपमा मनाइन्छ । प्रत्येक घरमा बेलुकी जमरा, डौना वावरीसँगै गोलो ढिक्री देवताहरूलाई मादलको तालमा चढाइन्छ । ढिक्रह्वाको रातभरी गरढुरियाहरू गल्लीको चोकमा कुखुरा नबास्दासम्म रातभरी जाँडरक्सी खाँदै नाचगान गरी रमाइलो गर्छन् । कुखुरा बास्न थालेपछि सबै आ–आफ्नो घर फर्किन्छन् र नवमीको तयारी गर्दछन् ।
नवमीको दिनलाई ‘मुर्घि पुज्ना डिन’ भनिन्छ । सो दिन बिहानै घरमूलीहरू हँसिया, लोटा र अक्षता लिएर नदीमा नुहाउन जान्छन् । सबैले कुलदेवताको नाममा एक मुठा नयाँ बह्रनी (कुचो) काटेर ल्याउँछन् । बह्रनी काटेर नुहाइ धुवाई गरेर अछेता धोएर लोटाको पानी लिएर घर आउँछन् । घरमा कुलदेवताकहाँ नयाँ बह्रनी राख्छन् । धेरैको घरमा देउताको रुपमा घोडा स्थापित हुन्छ । जमरा, डौना, वावरी र रक्सीले पूजा गर्दछन् । यसै समय भाले कुखुरा काटेर कुल देवतालाई वलि दिने चलन छ ।
दहित थारूहरूमा भने यस दिन वलि दिइदैन । उनीहरू कुभिन्डोलाई भेडाको प्रतीक बनाई वलिको रूपमा काट्छन् । खाना खाएर महिलाहरू रक्सी, मासु लिएर “पिट्टर” (पुरानो बह्रनी, देवतालाई चढाएको डौना वावरी, दुना टपरी आदि) नदीमा सेलाउन जान्छन् । नदीमा सेलाएर फर्कदा सामूहिक रूपमा एक ठाँउमा बसेर खानपीन गर्छन् ।
दशमीको दिन घरपरिवारबाहेक गाउँको संरक्षक गुरुवा र गाउँको अगुवा बरघरकहाँ छुट्टै टीका लगाउन जानुपर्छ । थारू समुदायमा सेतो टीका लगाइन्छ । तर हाल आएर रातो टीकाको चलन पनि बढेको छ । गुरूवा र बरघरकहाँ रक्सी, फलफुल लिएर भुखौरी ख्वाउन जाने चलन छ । गुरुवालाई गच्छेअनुसार दक्षिणा पनि दिइन्छ ।
दशमीका दिन नवविवाहित दुलहाले कुर्सी, मचिया, बेना (पंखा), कुखुरा, रक्सी आदि भरियालाई बोकाएर आफ्नो ससुराल जेँउरा (जमरा) लगाउन जाने चलन छ । जेँउरा लगाए वापत ज्वाँईलाई विदा गर्दा आफ्नो गच्छेअनुसार रकम दिइन्छ । डस्यामा चेलीबेटीहरूका साथ सम्पूर्ण घरपरिवारका सदस्यहरू जम्मा भएर सुख दुःखका कुरा आदान प्रदान गर्दै जाँड, रक्सी, मासु ढिक्री खाएर रमाइलो गरी मनाउने गर्छन् ।
थारुहरु नाचगानमा पनि सौखिन छन् । दसैंमा सखिया र बर्का नाच नाचको महत्व छ । यी बाहेक डस्यामा झुमरा नाच, हुर्डुङ्ग्वा, लठ्ठी नाच पनि नाचिन्छ । यहाँ यी नाचबारे छोटो चर्चा गरिन्छ ।
सखिया नाच
सखिया थारूहरूको दसैं तथा दीपावलीमा नाचिने नृत्य हो । दसैं आउनु दुई साता अघिदेखि रातीको खानापछि सखिया गीत सिकाउने मोह्रिन्या (गुरुमा) को घरमा सखिया नाच्ने टोलीका सदस्यहरू गीत सिक्छन् । दसैंँ सुरु भएपछि गोधुली साँझसँगै गाउँको अगुवा (महटाँवा, बरघर) को आँगनमा खास गरी एकैजसो पोशाकमा ठाँटिएर गाउँका थारू युवतीहरू जम्मा हुन्छन् । गाउँको घरसंख्या अनुसार नर्तकीहरूको संख्या पनि घटबढ हुन्छ । मादलेको आगमन भएपछि मादलको तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् ।
सखियामा मादलेहरू आफ्नो मादलमा झप्कनले सजाएर आफू भने टोपी, गम्छा, कमिज, कछार लगायत पोशाकमा सजिएका हुन्छन् । नर्तकीहरू सेतो रिवन, रातो झोवन्हा, रातै ब्लाउज तथा सेतो ठेठवा (लुँगी जस्तो पहिरन) एकै किसिमको पहिरन लगाएका हुन्छन् । ठेठवा अड्याउन कम्मरमा बाँधिने पेटी तथा खुट्टाको चप्पल भने फरक फरक हुन्छ ।
पैँया मूलतः गीतहीन सामूहिक नृत्य हो । तर केही गीति पैँया पनि पाइन्छ । त्यस्तो पैँयालाई गिडाहा पैँया भनिन्छ । कुनै कुनै पैँया गीत त श्रृङ्खलित आख्यानमा उनिएको हुँदा त्यस्ता पैँया गीतलाई लोकगाथाको कोटीमा पनि राखिएको छ । पैँया गीत अनेक बिषयबस्तुमा रचिएको पाइन्छ । यसमा रामायण, महाभारत तथा लौकिक जीवनका आख्यान पनि भेटिन्छन् ।
अशोक थारूका अनुसार (२०६३ः ६०) सखिया शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ !’ शब्दबाट भएको हो । स्मरणीय छ, कान्हाले द्रौपदीलाई समेत सखी भन्थे भने राधा त कान्हाकी सबैभन्दा प्रिया सखी थिइन् । त्यसैले, थारू कान्हाहरू थारू लोकराधाहरूलाई बोलाउँछन्, ‘ओ सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔ र एक अर्कामा लीन होऔ ।’ यसरी ‘सखी आ’ भन्दा भन्दै यस लोकनृत्य अर्थात् उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन आएको हो ।
जगदीश नारायण सिंह निर्भिकका अनुसार (१९९२ ई.ः १३९) सखिया नृत्यको परम्पराको उद्भवमा मध्यकालीन वल्लभीय प्रभाव हुन सक्छ । जनश्रुतिअनुसार घमण्डी देवले कान्हाका सखी ललिताका गाउँका केटाहरूलाई अभिनय गर्न सिकाएका थिए । अकवरी दरवारका नृत्यकार बल्लभ बृन्दावन पुगेर तिनलाई नृत्यको शिक्षा दिएका थिए । सखियाको पृष्ठभूमिमा यस किसिमको अन्तर्कथा सम्भव छ । सखियाको पृष्ठभूमि रास नृत्य हो ।
सखिया नाचमा मादलको ताल २२ ख्वाँट (चरण) हुने गरेकोमा सोही अनुसार पैँया पनि नाचिन्छ । ‘मोह्रिन्या’ मात्रै होइन, मादल बजाउन सिपालु मादलेहरू पनि हराउँदै गएकाले पैँयासँगै ख्वाँट पनि हराउँदै गएको छ । बर्दिया मयुरबस्तीका गीतकार एवं सङ्गीतकार सुशील चौधरी सखियाको बाइस ख्वाँट (ताल) र पैँयाबारे जानकार छन् ।
बर्का नाच
थारू समुदायमा बर्का नाच पनि दसैंमा नै नाचिन्छ । ऐतिहासिक महत्व राख्ने यस नाचमा महाभारतको कथावस्तुलाई समेटिएको हुन्छ । अन्य नाचको तुलनामा यस नाच टोलीमा सबैभन्दा बढी सदस्य हुन्छन् । सबैजना पुरुषमात्र रहने यस नाच टोलीमा सयभन्दा बढी वा सो हाराहारीमा नाच्नेहरू हुन सक्छन् । त्यसैले यसलाई बर्का नाच भनिन्छ ।
बर्का नाच सबै गाउँका नाच टोलीले सजिलै गर्ने हिम्मत गर्न सक्दैनन् । यो नाचको लागि आर्थिक भार बढी, तन्त्र मन्त्रको प्रष्ट ज्ञान, धेरै सदस्य र प्रतिबद्धताको जरुरत पर्दछ । यसैगरी थारू महाभारत कथाको राम्रो ज्ञान हुनु जरुरी पनि रहन्छ । बर्का नाचलाई दाङ, जलौराका चन्द्रप्रसाद चौधरीको टोलीले मात्रै जोगाएको छ । २०७६ सालको दशैंको अवसरमा निजको टोलीले थारू कल्याणकारिणी सभा जिल्ला समिति दाङको संयोजनमा निजकै गाउँ जलौरा तथा देउखुरीको महदेवा गाउँमा बर्का नाच प्रदर्शन गरिएको थियो ।
झुमरा नाच
झुमरा थारू जातिमा प्रचलित सदावहार लोकनृत्य हो । यो नृत्य बाह्रैमास नाचिन्छ । दसैंको अवसरमा घर–घर गई नाचिने नाचिने नाच पनि हो झुमरा । यस नाचमा एकजना मादले, एक वा दुईजना नाच्ने महिला हुन्छन् । मादल सजाउन अनेक प्रकारका झालरको प्रयोग हुने गरेको छ । कहिलेकाही मनोरञ्जनका लागि सोंगिया (जोकर) पात्र पनि हुन्छन्, जसको हातमा लट्ठीमा उनिएको कपडाको चरा फुर्र फुर्र गर्छ । झुमरा नाचमा मादलसंगै झाल अनिवार्य हुन्छ ।
यस नाचलाई स्थान विशेषअनुसार झुमरी, झुमरा, झुमर, धुमर, धुमरा पनि भनिन्छ । चितवनको सौराहामा थारू सांस्कृतिक घरमा पनि पर्यटकका लागि ढोलकको तालमा झुमरा नाच देखाइन्छ तर पश्चिमी थरुहटमा देखाइने नाचभन्दा यो फरक छ । पहिले झुमरा नाच्नेहरू महिलाको पोशाक लगाई पुरुषहरूले नाच्ने गर्थे भने अहिले महिलाहरू नै नाच्न थालेका छन् ।
हुर्डुङ्ग्वा नाच
कोलाहलपूर्वक गीत र नृत्यको तालमा बडा जोसिलो भएर मनोरन्जनार्थ नाचिने एक विशेष थारू लोकनृत्यलाई हुर्डुङ्ग्वा भनिन्छ । दसैंको अवसरमा घर–घर गई नाचिने नाचिने नाच पनि हो हुर्डुङ्ग्वा । यस नाचमा एक जना नाच्ने नचिन्या, एक जना मादले र कतै कतै एकजना हास्य कलाकार (सोंग्या) रहने गर्दछन् । साथै गीत गाउने दुई टोली रहन्छन् । दुईमध्ये गीत गाउने एउटा टोलीमा गीत उठान गर्ने मोह्र्या हुन्छन् । उनले गीत उठान गरेपछि अन्य सहयोगीहरूले पनि सोही गीत डोह्र्याएर गाउँछन् । त्यसपछि दोश्रो टोलीले सोही गीत लय मिलाइ गाउँछन् । नाच टोलीमा सबै जना पुरुष हुन्छन् । नर्तक पुरुषले महिलाको लुगा र गहना लगाएर प्रस्तुत हुन्छन् । हुर्डुङ्ग्वामा झुमरा तालकै मादल बजाइन्छ ।
लट्ठी (लठ्ठिहवा) नाच
लट्ठी नाचमा दुवै हातमा एकदेखि दुईवटा लट्ठी लिएर मादलको तालमा नाचिन्छ । यो नाच थारू समुदायमा निकै प्रचलित रहेको छ । दुई वा चार जना मादले तथा जोडदार संख्यामा नाच्नेहरू नाच्ने गर्दछन् । पहिले केटाहरू मात्र नाच्दै आएको यो नाच हिजोआज अविवाहित केटीहरू पनि नाच्ने गर्दछन् । यस नाचमा गीत हुँदैन, केवल मादलको तालमा आर्कषक ढंगले नाचिन्छ ।
नाचमा नाच्नेहरू खुला र सजिलो खालका रंगीविरंगी लुगाहरू लगाउछन् । मादले र नाच्नेहरूको जीउमा रंगी विरंगी कमिज, दुवै काखीमा रातो सप्को, टाउकोमा फुन्ना लगाइएका टोपी, नाडीमा फुन्ना लगाइएका कन्ठी, घाँटीमा फुन्ना लगाइएका गर्याला लगाएका हुन्छन् ।
बर्दिया मयूरबस्तीको लट्ठी नाच निकै लोकप्रिय छ । पश्चिम थरुहटतिर मात्रै होइन, चितवनमा पनि लट्ठी नाच निकै लोकप्रिय छ । यसमा ढोलक बजाइन्छ । लट्ठी नाचले लडाईको अनुभूति दिन्छ । जंगल छेउछाउमा बस्न रुचाउने थारूहरू जंगली जनावरसंग आत्मरक्षा गर्न सिकेको कलाबाट लट्ठी नाचको प्रादुर्भाव भएको अनुमान गर्न सकिन्छ ।
मुङग्रहवा नाच
हातमा काठको मुङग्रा लिइ नाच्ने हुनाले यस नाचलाई मुङग्रहवा नाच भन्ने गरिएको हो । यो नाच पनि खासगरी डस्यामा नाचिन्छ । यस नाचमा दुईदेखि माथि जोडा संख्यामा मादलेहरू हुन्छन् । नाच्नेहरू भने करीब ४ जोडी भन्दा माथि हुन्छन् । गदाको प्रतीकको रुपमा आएको मुङग्राको प्रयोग हुने नाचलाई महाभारतको मिथकसँग जोडिन्छ ।
यसरी दसैं अर्थात् डस्यामा थारु गाउँमा पाइला मात्रै टेक्नुपर्छ । थरिथरिका नाचको मनोरन्जन लिन पाइन्छ । यद्यपि माथि चर्चा गरिएका यी विभिन्न नाच लोप भइरहेका छन् । जुन गाउँमा गाउँको अगुवा बरघरको नेतृत्व बलियो छ, त्यहाँ दसैं मात्रै होइन, अन्य अवसरमा गाइने, नाचिने नृत्यको संरक्षण भएको छ ।
केन्द्रविन्दुबाट