धनगढी, २६ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको कर्फ्यू आदेश यथावत रहेको छ ।
बिहीबार प्रशासनले एक सूचना जारी गर्दै कर्फ्यू आदेश यथावत रहेको जनाएको छ । प्रशासनले भदौ २४ गते मंगलबार जारी गरेको आदेश परिमार्जित गरि आदेश जारी गरेको हो । जिल्लाका केही स्थानहरूमा उत्पन्न अस्थिर सुरक्षा स्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले अर्को सूचना जारी नभएसम्मका लागि बिहीबार आज ३ बजेदेखि जिल्ला भरी नै लागु हुने गरि कर्फ्यू आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू अर्को सूचना जारी नभएसम्म लागू हुनेछ । आदेश अनुसार तीन जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न पूर्णरूपमा रोक लगाइएको छ ।
तर अत्यावश्यक सेवा तथा कार्यका लागि सीमित समयमा आवतजावत गर्न पाइने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी लम्सालले आदेश उल्लंघन गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन् । सुरक्षा निकायहरूलाई कर्फ्यू कार्यान्वयनका लागि निर्देशन दिइसकिएको छ । जिल्ला प्रशासनले सबै नागरिकहरूलाई संयमता अपनाउन र प्रशासनको आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।