धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझा १५ बुँदे घोषणापत्र जारी गर्दै आफ्नो प्यानल घोषणा गरेका छन् ।
“व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित अध्यक्षका उम्मेदवार ओझाले सोमबार धनगढीमा विशेष कार्यक्रम गर्दै प्यानल घोषणा गरेका हुन् । यहि भदौ २८ गते हुन गई रहको संघको ५१औं साधारण सभा तथा अधिवेशनका लागि उनले १५ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् ।
घोषणापत्रमा उद्योग व्यवसायीलाई दुर्घटना बीमा सुविधा निःशुल्क उपलब्ध गराउने, विद्युत् तथा संकट प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, घर, पसल तथा गुदाममा सुरक्षा प्रणाली लागू गर्ने लगायतका कार्यक्रम समावेश रहेका छन् ।
त्यसैगरी, उद्योग व्यवसायीलाई डिजिटलाइज गर्ने, कर प्रणाली सरलीकरणका लागि सरकारी निकायसँग सहकार्य गर्ने, व्यवसायीले भोग्नुपर्ने प्रशासनिक समस्यामा सुधार ल्याउने, पर्यटन, कृषि, औद्योगिक उत्पादनलाई प्रवद्र्धन गर्ने लगायतका योजनाहरू प्रस्तुत गरिएको छ ।
घोषणापत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मेडइन सुदूरपश्चिम” अभियान सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना गर्ने प्रतिबद्धता राखिएको छ । साथै, व्यवसायलाई आकर्षित गर्न भारत र नेपालका उद्योगी, लगानीकर्तालाई लक्षित गर्दै लगानी सम्मेलन गर्ने घोषणा पनि गरिएको छ ।
प्यानलका उम्मेदवारहरूले आफ्नो घोषणापत्र व्यवसायीको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने खालको रहेको दाबी गरेका छन् । उनीहरूले युवालाई उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत आत्मनिर्भर बनाउन योगदान गर्ने बताएका छन् ।
ओझा प्यानलले व्यवसायीलाई निःशुल्क बीमा सुविधा, विद्युत् तथा संकट प्रभावित व्यवसायीका लागि राहत कार्यक्रम ल्याउने बताएको छ । घर–पसलमा सुरक्षा प्रणाली जडान गर्न तथा व्यवसायीलाई डिजिटलाइज गर्ने योजना ल्याउने ओझा प्यानलले प्रतिबद्धता सार्वजनिक गरेको छ ।
उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट, उपाध्यक्ष (उद्योग) तर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएट तर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्य तर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगत तर्फ भीमराज ओझा (अबु) महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्ण कुमारी बिष्टको उम्मेदवारी रहने भएको छ ।
ओझा प्यानलमा सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ ।
“व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित प्रस्तुत घोषणापत्रमा व्यवसायीको सुरक्षा, पारदर्शिता, सहकार्य, डिजिटलाइजेसन र स्थानीय उत्पादन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको छ ।