धनगढी, ३० साउन । कैलालीमा प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनवाइ स्थानीयले बहिष्कार गरेका छन् ।
कैलारी गाउँपालिका–५ को बैजपुरमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गुर्गी सिँचाइ आयोजना पुनःनिर्माण ढिलाइ सम्बन्धि सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना गरेको थियो ।
समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गुर्गी सिँचाइ आयोजना निर्माणका लागि वर्षेनी बजेट विनियोजन हुने तर निर्माण नहुने गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमप्रसाद भट्ट, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडी कर्मचारीसँग स्थानीय तत्कालीन सचिव सुरत बम र सिँचाइ डिभिजनका प्रमुख डम्बर धितालले योजनाका नाममा भ्रष्टाचार गरेकोले उनीहरूसँगै कुरा गर्न दिनुपर्ने माग गरे ।
सांसदहरूसँग कुनै गुनासो नरहेको बताउँदै स्थानीय रेवन्त बोहराले कर्मचारीले आर्थिक अनियमितता गर्न हरेक वर्ष बजेट छुट्याउने, डीपीआरका नाममा भ्रष्टाचार गरेकाले उनीहरूमाथि छानवीन गरेर कारवाही हुनुपर्ने माग गरेपछि कार्यक्रममा होहल्ला सुरू भएको थियो ।
होहल्लाबीच जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विनाडी बोल्ने क्रममा स्थानीय कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।
५० को दशकमा कैलारी गाउँपालिका–२ मा निर्माण भएको गुर्गी सिँचाइ आयोजनाको मूल नहरको बाँध भत्किएको थियो । संघीय सरकारले त्यसपछि पुनःनिर्माणको नाममा २०६४ सालपछि बर्सेनि बजेट विनियोजन गर्दै आएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले समेत गर्गी सिँचाइ आयोजनाका नाममा बजेट छुट्याउने गरेको थियो । सरकारले हरेक वर्ष बजेट छुट्याएपनि योजना पुनःनिर्माण नहुँदा स्थानीयमा ठूलो आक्रोश रहेको छ ।
स्थानीयले सार्वजनिक सुनवाइ कार्यक्रम बहिष्कार गरेपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले स्थानीयको कुरा सुन्ने उद्देश्य आएको बताउँदै बहिष्कार गर्नु राम्रो नभएको बताएका थिए ।
उनले वर्षाैंदकेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयोजना पुननिर्माणका लागि समितिमा थप छलफल गरेर सरकारलाई निर्देशन दिइने बताए ।
स्थानीयले बहिष्कार गरेको कार्यक्रममा समितिका सदस्य समेत रहेको माओवादी केन्द्रका संसदीय दल नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्र बहादुर मल्ल, कांग्रेस सांसद ललिता सुनार, माओवादीका शिवसिंह ओली र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको सहभागी थिए । तर स्थानीयले बहिष्कार गरेपछि उनीहरू बोल्न नपाउदै फर्किएका छन् ।